सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ।

यस अघि शुक्रबार भएकाे प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङि्गएको हो। बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक/एक अङ्क बाँडेका छन्।

खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन्। त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो। 

खेलको दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन्। उनको हेड प्रहार बाहिरिएको थियो। त्यस्तै खेलको ५७औँ मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए।

खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो। सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए।

खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए। खेलको ७६औँ मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो। डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो। सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए।

लिगको उपाधि विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख प्राप्त गर्नेछन्। 

Skip This
Skip This
Logo