सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्। नेपालमा भएको १३ औं सागका गोल्ड मेडलिष्ट बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधी जितेका छन्। बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका छन्। गतवर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।
बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन्। खड्गबहादुर खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्ड, देवराज महतरा २ घण्टा ३९ मिनेट २ सेकेन्ड, प्रताप थामसुहाङ २ घण्टा ५९ मिनेट २५ सेकेन्ड र हिम गिरी ३ घण्टा २ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः चौथो, पाँचौ, छैठौ र सातौ भएका छन्।
सातौं धारा नेपालगञ्ज म्याराथनको उपाधी जितेका बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन्। द्वितीय भएका रावलले ५० हजार, तृतीय भएका विष्टले २५ हजार, चौंथो भएका खड्काले १५ हजार, पाँचौं भएका महतराले १० हजार, छैठाैं भएका प्रतापले ८ हजार र सातौं भएका गिरीले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
सातौं धारा नेपालगञ्ज म्याराथनमा प्रथमदेखि सातौंसम्मका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वर महतराज, महानायक राजेश हमाल, दुगड ग्रुपका प्रदीप छाजेडलगायतले पुरस्कार वितरण गरे।
हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन्। एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधी जितेकी हुन्। सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन्। ५ र १० किलोमिटर दौडिने सन्तोषीले अनुभवका लागि लामो दौड्दा प्रथम भएको प्रतिक्रिया दिइन्।
एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन्। हाफ म्याराथनमा विन्दु हमाल तृतीय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचाैं, कल्पना थारु छैठौं र चन्द्रमाया रावत सातौ भएका छन्।
हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन्। द्वितीय भएकी भण्डारीले २५ हजार, तृतीय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौ भएका शाहीले ८ हजार, छैठौं भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
हाफ म्याराथनका विजेतालाई उद्योगी व्यवसायी चम्पालाल बोथरा, किरण कार्की, सञ्जय सिंहले पुरस्कार वितरण गरे।
नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए। मन्त्री गहतराज महानायक राजेश हमालसँगै वाकाथनमा सहभागी भएका थिए। नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडमा सामेल भएका थिए।
आयोजक क्रियटिभ ह्याण्डसले पोखरा म्याराथनका परिकल्पनाकार खड्गबहादुर रानाभाटलाई कदरपत्रले सम्मान गरेको थियो। म्याराथन धावकको विश्व साइकलयात्री पुष्कर शाहलगायतले स्कटिङ गरेका थिए।
आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले २५ हजार पुरस्कारबाट शुरु गरिएको म्याराथनको राशी बढाएर एक लाख रुपैयाँ पुर्याइएको बताउदै म्याराथनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई जोड्ने काम भइरहेको बताए।





























प्रतिक्रिया