काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तोकेको टाइमलाइन अनुसार क्यानले मंसिरभित्र महिला र पुरुष दुबैको राष्ट्रिय प्रतियोगिता अनिवार्य गर्नु पर्नेछ ।
‘आईसीसीलाई क्यानले तोकेको टाइमलाइन अनुसार मंसिरभित्र महिला र पुरुष दुबैको राष्ट्रिय प्रतियोगिता गर्नु पर्नेछ । त्यसैले मंसिर मसान्तभित्र महिला र पुरुषको प्रधानमन्त्री कप गर्ने निर्णय भएको छ,’ बोर्ड बैठकपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘त्यसका लागि राष्ट्रिय खेलकुद परिषद र सरकारसँग समन्वय गर्नेछौं ।’
यस्तै लामो समयबाट बन्द रहेको राष्ट्रिय टिमको क्लोज क्याम्पका लागि समेत क्यानले परिषदसँग अनुमति माग्ने भएको छ । ‘सिनियर खेलाडीको क्लोज क्याम्प सुरु गर्ने तयारी गरेका छौं । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद र सरकारसँग समन्वय गरेर क्याम्प सुरु गर्न अघि बढ्ने छौं,’ अध्यक्ष चन्दले भने ।
क्यान निलम्बन रहेको अवस्थामा राखेपले आयोजना गर्दै आएको प्रधानमन्त्री कप अब क्यानले आयोजना गर्ने भएको हो । पुरुषतर्फ तीन संस्करण पूरा भएको छ भने महिलातर्फ चार संस्करण पूरा भएको छ ।































प्रतिक्रिया