साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन्। निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे ।
समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीकाे खेलजस्तै रह्यो । पाँच खेलमा हार, जित हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठूलो अन्तरको जित निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा तीन गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो।
पहिलो चरणमा १६ गोल निस्कदा दोस्रो चरणमा भने जम्मा सात गोल भएकाे छ। पहिलो चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो। अघिल्लो खेलमा च्यासलविरुद्ध ३–० को जित निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो।
दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जित निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो। यता, संकटाको भने पहिलो जित हो।
दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्याे। त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ मर्सस्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जितलाई निरन्तरता दियो।
तेस्रो दिन भएको एक मात्रै खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै पुलिसले पहिलो जित निकाल्यो। वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्याे।
दोस्राे चरणको अन्तिम दिन उपाधिमा दावेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरीमा रोकियो। यो बराबरीसँगै एनआरटीलाई उपाधि दावेदारीमा धक्का लागेको छ।
अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्। यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ। मनाङले दोस्रो चरणमा दुई अंकको अग्रता बनाएको हो।
दोस्रो चरणको समाप्तीमा मनाङको दुई खेलबाट दुई गोलसहित ६ अंक भएको छ। समान चार अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान तीन अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा दुई अंक जोडेको आर्मी नवौँ स्थानमा छ।
समान एक अंक जोडेका हिमालयन शेर्पा, फ्रेण्डस् र एनआरटी क्रमशः दशौँ, एघारौँ र १२औँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन्। तेस्रो चरणका खेल शुक्रबारबाट सुरु हुने छन्।
दोस्रो चरणका नतिजा
१. सातदोबाटो युथ क्लब १–० थ्रीस्टार क्लब
२. संकटा क्लब २–१ फ्रेण्ड्स क्लब
३. च्यासल युथ क्लब १–० एपीएफ फुटबल क्लब
४. हिमालयन शेर्पा क्लब ०–१ मनाङ मस्र्याङ्दी क्लब
५. जावलाखेल युथ क्लब ०–१ नेपाल पुलिस क्लब
६. ब्रिगेड ब्वाइज क्लब ०–० न्युरोड टिम एनआरटी
७. त्रिभुवन आर्मी फुटबल क्लब ०–० मछिन्द्र फुटबल क्लब
Photo : ANFA































प्रतिक्रिया