तीन रेडकार्ड निस्किएको खेलमा जित निकाल्दै एथ्लेटिको मड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति पोर्चुगल राजधानी पोर्टाेमा भएको खेलमा एफसी पोर्टाेलाई ३-१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनाएको हो।
तनावपूर्ण स्थितिको खेलमा दुबै टोली १० खेलाडीमा सीमित भएका थिए। ३ रातो कार्ड देखिईएको खेलमा दोस्रो हाफमा दुबै टोली १० खेलाडीमा खेले।
खेल सुरु नहुँदै पोर्टाेका बेन्च गोलरक्षक अगुस्टिन मार्चेसिनले रातो कार्डको सामना गरे। खेलको ६७ मिनेटमा एथ्लेटिकोको यान्निक कारास्सोले रातो कार्डको सामना गर्दा पोर्टाेका विनडेलले ७० मिनेटमा रातो कार्ड पाए।
निर्णायक खेलमा एथ्लेटिकोलाई जिताउन एन्टोइन ग्रिजम्यान, एन्जेल कोरेया र रोड्रिको डे पाउलले १–१ गोल गरे। पोर्टाेका लागि सर्जियो ओलिभिराले इन्जरी समयमा सान्त्वना गोल गरे।
पहिलो हाफ गोलरहित बरारबीमा सकिएको अवस्थामा दोस्रो हाफमा ग्रिजम्यानले ५६ मिनेटमा अग्रता दिलाए। ९० मिनेटमा एन्जेलले गोल गर्दा दोहोरो अग्रता बन्यो।
इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै एथ्लेटिकोलाई ३–० को अग्रता दिलाए। इन्जुरी समयको अन्तिम मिनेटमा पोर्टाेका सर्जियोले गोल गरेपनि त्यो जितको लागि पर्याप्त रहेन।
मंगलबार राति नै भएकाे समूह ‘बी’ को खेलमा लिभरपुलले एसि मिलानलाई २-१ अन्तरले पराजित गर्दै शतप्रतिशत जितलाई निरन्तरता दियो। जितसँगै ६ खेलबाट १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्याे भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नटआउट चरणमा स्थान बनायो। पराजित पोर्टाे ५ अंक र ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए।





























प्रतिक्रिया