अघिल्ला सिजनमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता टोली सीधै एएफसीको प्रतियोगितामा छनोट हुने परम्परा थियो। तर यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ।
हाल नेपालमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी लाइसेन्स रहेको छ।
विभागीय टोली आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन्। अब एएफसी कपमा छनोट हुन मछिन्द्र र मनाङबीच महाभिडन्त हुँदैछ। अन्य १० टोली शीर्ष स्थानमा भए पनि लाइसेन्स नहुँदा लिग च्याम्पियन हैसियतमा एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउँदैनन्।
जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ। तथ्यांक बताउँछ मनाङलाई शनिबार हुने खेलमा त्यति दबाब हुने छैन।
दशरथ रंगशालामा दुई खेल हुनेछ। साँझ हुने पौने ५ बजेको दोस्रो खेलमा भिड्दैछन मनाङ र मछिन्द्र। दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ।
आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ। यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ।
आजै १ बजे हुने खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ। च्यासल ५ खेलमा ४ अंक जोडेर १३औँ स्थानमा रहेको छ।































प्रतिक्रिया