सरकारको मानपदवीमा खेलाडी संघको आपत्ति

सरकारको मानपदवीमा खेलाडी संघको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले संविधान दिवसका अवसरमा सरकारले दिएको मानपदवीबाट खेलकुद क्षेत्रले अपमान महशुश गरेको बताएको छ ।

शनिबार बिज्ञप्तीमार्फत खेलाडी संघले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उच्च प्रर्दशन गर्दै ऐतिहासिक सफलता दिलाएका खेलाडीलाई सरकारले मानपदवीबाट बिमुख गर्दा अपमानको महशुश भएको बताएको हो ।

सरकारले छैटौं संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी र अलंकारबाट विभूषित गर्दा खेल क्षेत्रबाट खेल पदाधिकारीसहित १९ जनाको नाम समावेश गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक जितेर देशको अन्तर्राष्ट्रिय जगतमा गौरव बढाएका खेलाडीलाई मानपदवीमा सरकारले समावेश गरेको छैन । नेपालले १३ औं सागमा सर्वाधिक पदक जितेको बर्ष भएको उल्लेख गर्दै खेलाडी संघले खेल क्षेत्र र खेलाडीको सम्मानमा सम्बन्धित निकायको ध्यान नपुगेको उल्लेख गरेको छ ।

‘सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले अपमान महशुश गर्नु पर्ने दुखद अवस्था सृजना भएको छ ।’ संघका अध्यक्ष दिपक श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवीका लागि फारम भर्न लगाएको थियो । तर शनिबार सार्वजनिक भएको मानपदवी पाउने सूचिमा सागका स्वर्ण पदक विजेता खेलाडीको नाम समावेश छैन ।

खेलाडी संघले सरकारले सार्वजनिक गरेको सूचिमा खेलाडीको नाम समावेश नहुनु दुखद पक्ष रहेको उल्लेख गरेको छ । खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण पुन उजागर भएको निष्कर्श खेलाडी संघले निकालेको छ ।

‘सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहँदैन । यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं । आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ ।’ खेलाडी संघले भनेको छ ।

Skip This
Skip This
Logo