फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो।
६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मछिन्द्रले अग्रता लिएको थियो। आठ खेल खेलेको मछिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ। मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ। मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ।
पहिलो हाफको खेल सकिँदा मनाङले २–० को अग्रता बनाएको छ। यस खेलमा मनाङले जितेमा मछिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ। संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ।
मछिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेशनको दबाब थपिएको छ। आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३औँ स्थानको च्यासलको पाँच अंक छ।
यसअघि दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । यसअघि नवाैं मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिँदा मछिन्द्रले अग्रता लिने अवसर गुमायो ।
१८औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मछिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। २७औँ मिनेटमा मछिन्द्रका सुनिलले गरेको क्रसमा मछिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन्।
५३औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बिफल पारेका थिए । शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एआरटी) को सामना गर्दैछ।





























प्रतिक्रिया