प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍याे। 

जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो। कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए। यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे। अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट भए।  

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ले सर्वाधिक चार विकेट हात पारे । चार ओभरमा १५ रन मात्र खर्चिए। यस्तै हेमन्त धामीले दुई विकेट लिँदा विकाश अग्री, आदित्य महता र गजेन्द्र बोहराले समान एक विकेट लिए। 

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङका गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो। 

सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । यस्तै वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे।

कर्णालीका प्रकाश जैसीले  सर्वाधिक तीन विकेट लिए। त्यस्तै रविन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट लिए।

जितसँगै सुदूरपश्चिमले समूह ए बाट दुई अंक जोडेको छ। उसले दुई खेल खेल्दै तेस्रो स्थानमा उक्लिएको हो। यस्तै कर्णालीको समेत दुई खेलबाट एक जित र एक हारसहित दुई अंक रहेको छ। 

दुई खेलमा शत प्रतिशत जित निकालेको पुलिस शीर्ष स्थानमा छ। तीन खेलमा तीन अंक बनाएको आर्मी दोस्रो स्थानमा छ। सुदूरपश्चिम तेस्रो स्थानमा रहँदा कर्णाली चौथो स्थानमा झरेको छ । प्रदेश १ भने एक अंकसहित पुछार तथा पाँचौं स्थानमा छ। 

Skip This
Skip This
Logo