पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकै नै स्मरणीय रहनेछ। उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नफर्कने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको डिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए। तर, जीवनकै ठूलो चोट बोके ।
२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि विमल करिब एक वर्ष नै मैदान बाहिर रहे। अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा विमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए।
रिकवरीपछि विमल असाेज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए। लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए । सुरुवाती खेलमा जम्न समय खर्चिएका विमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे। जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे।
यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए । मौरिससविरुद्धको दुवै खेलमा विमल टोलीमा थिए । पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट बिताउँदै १ गोल गरे । अन्जन बिष्टको पासमा ५५औं मिनेटमा विमलले गरेको गोलमा नेपाल विजयीसमेत भयो ।
जुन गोल विमलले भदाै ०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो। दोस्रो खेलमा भने विमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए। गोल भने भएन। तर, उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे । लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो। पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो।
अब, भने विमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन् । उनले मैदान बाहिर रहँदासमेत सधैं भावनात्मकरुपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए।
‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मकरूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय विमलले दुई खेलपछि भनेका छन्।
विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले हालसम्म नाै गोल गरिसकेका छन्। विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेसँगै चर्चा बढुलेका थिए।
त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो। कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार। पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनी चर्चामा आइरहे । साथै एन्फाको कारबाहीमा पनि ।
कात्तिक २०७६ मा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले विमलसहित चार खेलाडीलाई तत्कालै टोली बाहिर राखे । विमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्धमा परे ।
करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल नेपालको झण्डा अंकित जर्सी लगाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन्।
‘उतार चढाव पश्चात शारीरिक र मानसिकरुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिनँ,’ देशका लागि ३७ क्याप जितेका विमल भन्छन्।
यसअघि लिगका दौरान बोल्दै विमलले आफू सोही ब्यक्ति भएपनि आफ्नो बानी व्यहाेरा र आचरण सुध्रिएको बताएका थिए । जुन उनले मैदानमा समेत देखाएका छन् ।
उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन्।
यसैले नै विमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाँड्न सदैव तत्पर हुनेछु।’न्युज कारखाना































प्रतिक्रिया