एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लु स्टारबीचको खेल २२ चैतमा दशरथ रंगशालामा हुने भएको छ । जारी लिगको सातौँ चरणमा लिग लिडरको रूपमा एएफसी कपको प्रारम्भिक चरणमा स्थान बनाएको मछिन्द्रले फिफा बरियताका आधारमा श्रीलंकाको सुपर लिग लिग च्याम्पियनलाई प्रतिस्पर्धाका लागि आतिथ्यता दिने भएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समय र स्थान तय गरेसँगै खेल दशरथ रंगशालालमा साँझ ५ बजे सुरु हुने भएको छ । मछिन्द्रले ब्लु स्टारलाई पराजित गर्न सफल भए दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग २९ चैतमा कोलकातामा प्रतिस्पर्धा गर्नेछ ।
सो खेल जितेको खण्डमा मछिन्द्र एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउने छ । जुन समूहमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किङ्ग्स र माल्दिभ्सको माजिया स्पोर्टस छन् ।
यसअघि नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबले एएफसी कपमा सहभागिता जनाउँदै आएपछि यस वर्ष समयमै लिग हुँन नसक्दा मच्छिन्द्र सातौँ चरणमा शीर्षस्थानमा रहँदै छनोट भएको हो ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्दैछ । २०७६ सालको लिग च्याम्पियन भए पनि मच्छिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगितामा भाग लिन पाएन र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले छनोटमा भाग लिएको थियो ।
यद्यपि, आर्मी दोस्रो चरणबाट अगाडि बढ्न सकेन ।































प्रतिक्रिया