सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् ।
महिलातर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको कीर्तिमान बनाउँदै उपाधि आफ्नो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औँ संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् ।
केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै ४ लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । पोखरा म्याराथनमा उनको कीर्तिमान हो । यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमानी बनाएका थिए । जुन कीर्तिमानलाई केन्याली धावकले तोडेका हुन् ।
खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै दुई लाख नगर राशिको पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थानमा आउँदा सशस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने । पाँचौँ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पूरा गरेका थिए ।
महिलातर्फको हाफ म्याराथनको उपाधि प्रसाईँले दोस्रो पटक उचाल्दा सशस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थानमा रहिन् । जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै चौथो स्थानमा रहिन् ।
खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे । महिलातर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरूप १५ हजार नगद राशि प्राप्त गरे ।
उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गर्नु भएको थियो । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद सहरसँगै खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित डेढ दशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।





























प्रतिक्रिया