अस्ट्रेलियामा यसै वर्ष हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा हुन सकेन । ग्लोबल छनोटको सेमिफाइनलमा मंगलबार यूएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकपको मुखैमा पुगेर पनि छनोट हुन नसकेको हो।
अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपाल यूएईसँग भने लज्जास्पद हार भोग्न बाध्य भयो । नेपाललाई हराएउँदै यूएईले भने विश्वकप क्रिकेटमा स्थान बनाएको छ। अर्को सेमिफाइनलमा ओमनलाई ५६ रनले हराउँदै आयरल्याण्डले पनि विश्वकपमा स्थान पक्का गरेको छ। जारी छनोट प्रतियोगिताको उपाधिका लागि यूएई र आयरल्याण्डबीच खेल हुनेछ। दुवै समुह 'ए' बाट सेमिफाइनलमा प्रवेश गरेका थिए। नेपालले भने तेस्रो स्थानका लागि ओमानसँग खेल्नेछ।
यूएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भयो। महत्वपूर्ण खेलमा ब्याटिङ नचल्ने नेपालको रोग मंगलबारको खेलमा पनि दाेहोरियो। दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाएको नेपालको इनिङसमा ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।
यूएईका अहमद राजाले ५, जुनाईद सिद्दिकीले ३ तथा जाहोर खान र रोहन मुस्तफाले एक एक विकेट लिए।
यसअघि मस्कटस्थित अलअमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। महम्मद वासिमले ७० र रित्य अरभिन्दले ४६ रन जोडे ।
नेपालका जितेन्द्र मुखिया र अबिनाश बोहोराले समान ३ तथा सन्दिप लामिछानेले एक विकेट लिए।































प्रतिक्रिया