विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । झापा गोल्डकपको उपाधिमा ह्याट्रिक गरेको झापाको यो चौथो उपाधि हो । झापा भने पाँचौ पटक उपविजेता बनेको हो ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनलमा आयोजक झापा ११ लाई २ १ गोल अन्तरमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो ।

उपविजेता झापाले ६ लाख ५ हजार रुपैयाँमा चित्त बुझायो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले १८औं र जर्ज प्रिन्स कार्कीले २१औं मिनेटमा एक एक गोल गरे । झापाका विमल घर्तीमगरले २४औं मिनेटमा गोल फर्काएका थिए । प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए ।
उनले एक थान यामाहा मोटरसाइकल पाए । गोल्डकपमा सर्वाधिक पाँच गोल गरेका विमल घर्तीमगरले २५ हजार नगद प्राप्त गरे । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्द्रेस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए ।

उनीहरुले जनही २१ हजार रुपैयाँ पाए । फागुन २१ गते सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबको सहभागिता थियो ।
झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे । फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता समापन भने सोमबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गरे ।






























प्रतिक्रिया