आईसीसी विश्वकप क्रिकेट 'लिग-२' मा नेपालले पाँचौ जित निकालेको छ ।
आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । नेपालले ९ खेलबाट १० अंक जोडेको छ । पीएनजी भने १४ खेलमा अंकविहीन छ ।
यूएईको सारजहामा पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । करण केसीले पचासौं ओभरको पहिलो २ बलमा १० रन जोड्दै नेपालको जित सुनिश्चित गरेका हुन् । उनी २९ रनमा नटआउट रहे ।
४२ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरे । रोहित ५८ रनमा आउट भए । आरिफले ५५ रनको योगदान गरे ।
नेपालका भरपर्दा व्याट्सम्यानहरु बुधबारको खेलमा पनि चलेनन् । कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा आसिफ शेखले १६ र विनोद भण्डारीले ११ रन बनाए ।
यसअघि टस जितेर पहिला व्याटिङ गरेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २०४ रनको योगफल तयार पारेको थियो ।
९१ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै मध्यक्रममा व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि पीएनजी सम्मानजनक योगफल तयार पार्न सफल भयो । उसका लागि चाल्स अमिनीले ५९ र चाद सोपरले ३५ रन बनाए । लेगा सिकाले २५ र नोर्मान भानुआले २३ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक एक विकेट लिए । ८ ओभर बलिङ गरेका करण केसीले ५६ रन दिएपनि विकेट भने लिन सकेनन् । सन्दीपले पीएनजीविरुद्धको खेलमा आफुसहित ७ जनालाई बलिङ गराएका थिए ।
नेपालले आफ्नाे दोस्रो खेलमा बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । १५ खेलमा १८ अंक जोडेको यूएई तालिकाको दोस्राे स्थानमा छ ।





























प्रतिक्रिया