सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन १३औं सागमा दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएका छन् ।
हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ स्कोर बनाए । स्थानीय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ ओभर ६९ स्कोरसाथ संयुक्त तेस्रो स्थानमा छन् ।
रामे मगर २ ओभर ७० स्कोरका साथ पाँचौं स्थानमा छन् । दिनेश प्रजापति, नीरज तामाङ र धनबहादुर थापा ३ ओभर ७१ स्कोरका साथ संयुक्त छैटौं तथा भुवन नगरकोटी र रवि खड्का ४ ओभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन् । भुवनले सातौं होलमा होल इन वनप्रहार गरे पनि अन्तिम होलमा क्वाड्रपल बोगी खेप्न पुगे ।
शीर्षस्थानका एमेच्योर सुभाषले तेस्रो, पाँचौं, छैटौं, १३औं र १६औं होलमा बर्डि प्रहार गरे । उनले नवौं होलमा डबल बोगी र १०औं होलमा बोगी खेपे ।
प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ ।
५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४ एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।
इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबारप्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।































प्रतिक्रिया