बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बाँसबारीले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
पहिलो हाफ गोलरहित बारबरीमा सकिएको खेलमा ५४औं मिनेटमा भीष्मराज घिमिरेले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा बिक्की राईले गोल गरेपछि बाँसबारीले २-० को अग्रता बनाएको थियो । ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलका लागि सान्त्वना गोल गरे ।
जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेको छ । यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ । झम्सिखेल यसअघि नै 'सी' डिभिजनमा घटुवा भइसकेको छ ।
१८ फागुनदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ ।
दुई खेलअघि नै चर्च ब्वाईज क्लब शीर्षस्थानमा रहँदै 'ए' डिभिजन लिगमा बढुवा भइसकेको छ । यही वर्ष 'बी' डिभिजनमा बढ्वा भएको चर्च ब्वाईजले एकै वर्ष 'ए' डिभिजनमा छलाङ मारेको हो । 'ए' डिभिजनमा खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटीमध्ये एक टिमले स्थान बनाउनेछन् ।





























प्रतिक्रिया