नेपाली खेल जगत अझै उठ्न सकेन

नेपाली खेल जगत अझै उठ्न सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युरोपियन राष्ट्रमा यतिबेला फुटबल खेलले वातावरण तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ ।

एशियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीव्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडांै उपत्यका र उपत्यकाभन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर भएका खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका छन् । अहिले अन्यौलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । छलफलपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुने उनको भनाइ छ ।

खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर सरकारले लगाएको अंकुस र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्युएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाको भनाइ छ ।

युरोपमा कोरोना कहरकै बीच फुटबलसहित खेलकुद गतिविधि सञ्चालनमा आईसक्दा छिमेकी देशहरुमा समेत डब्ल्युएचओको प्रोटोकलअनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन् । खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागि हुन खेलाडीलाई फिटनेसको समस्या अवस्य देखिन्छ । त्यसको असर नतिजमा पनि अवस्य पर्ने देखिन्छ ।

Logo