रियल मड्रिड ‘ला लिगा’को उपाधि नजिक

रियल मड्रिड ‘ला लिगा’को उपाधि नजिक


बुधबार राति ओसासुनाविरुद्ध ३–१ को सहज जित निकाल्दै रियल मड्रिड जारी सिजनमा 'ला लिगा'को उपाधि नजिक पुगेको छ । लगातार ४ वटा जितेसँगै रियल मड्रिडले दोस्रो स्थानको एट्लेटिको मड्रिडविरुद्ध १७ अंकको अग्रता बनाएको छ। समान ३३ खेलबाट रियलको ७८ र एट्लेटिकोको ६१ अंक छ । ५ खेल बाँकी रहँदा डिफेन्डिङ च्याम्पियन एट्लेटिको उपाधि होडबाट बाहिरिएको छ । समान ६० अंक भएका बार्सिलोना तेस्रो र सेभिया चौथो स्थानमा छन् । ३१ खेल मात्र  खेलेको बार्साको उपाधि होड कायम छ । 

लिगको ३३ औं खेलमा जित निकाल्ने क्रममा रियल मड्रिडका लागि डेभिड अलाबा, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले गोल गरे । डेभिड अलाबाले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । तर, रियलले त्यो अग्रता एक मिनेट पनि टिकाउन सकेन । १३औं मिनेटमा ओसासुनाका लागि एन्टी बुडिमिरले निकै सटिकरुपमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४५औं मिनेटमा मार्काे एसेन्सियोले रियलका लागि गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए । यो सिजन निकै उत्कृष्ट फर्ममा रहेका फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमा ओसासुनाविरुद्व दुई पटक पेनाल्टीमा गोल गर्न चुकेका थिए । 

दोस्रो हाफको ५१ र ५७औं मिनेटमा बेन्जिमाले पाएको पेनाल्टीलाई ओसासुनाका किपर हेरेराले निकै आकर्षक ढ्ङगले बचाउ गरेका थिए । खेलको इन्ज्युरी समयको छैटौं मिनेटमा लुकास भास्क्वेजले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको जित पक्का गरे । 

रियल मड्रिड अब कीर्तिमानी ३५औं पटक ला लिगा उपाधिको यात्राबाट केबल ४ अंक टाढा छ । बाँकी ५ खेलमा एकमा जित र एकमा बराबरीले मात्र पनि रियलले कीर्तिमानी ३५औं पटक उपाधि जित्ने छ । अर्को तर्फ बार्साले भने रियलबाट उपाधि खोस्न सबै खेलमा जित निकाल्नु पर्नेछ । एक हार र एक बराबरीले मात्र पनि बार्साको उपाधि यात्रामा पूर्णिवराम लाग्नेछ । 

स्पेनिस ला लिगामा अहिलेसम्म धेरै उपाधि रियल मड्रिडकै पोल्टामा छ। रियल मड्रिडले हालसम्म ३५ पटक र रियल मड्रिडलाई पछ्याउँदै गरेको बार्सिलोनासँग २६ वटा उपाधि छ।

Logo