1
0
Shares

एसियन कप छनोटमा नेपाल कठिन समूहमा

1
1
1

एसियन कप छनोटमा नेपाल यो पटक कठिन समूहमा परेको छ। तेस्रो चरणको खेलमा समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियालाई प्रतिद्वन्द्वी पाएको छ। 

सन् २०२३ मा हुने एसियन कपमा छनोट हुन नेपालले कम्तीमा एक खेलमा जित र एकमा बराबरीको नतिजा ल्याउनु पर्नेछ । समूह चरणको विजेता एसियन कपमा सोझै छनौट हुनेछ भने दोस्रो स्थानमा रहेको टोलीको छनोट सम्भावना पनि कायम नै रहनेछ । त्यसका लागि समूह चरणमा दोस्रो स्थान हात पारेका बाँकी सबै टोलीबीच पुनः प्रतिस्पर्धा हुनेछ । ६ समूहका उपविजेताबीचका उत्कृष्ट ५ टोलीले एसियन कप खेल्नेछन् । 

फिफा वरीयतामा नेपाल आफ्नो समूहकै सबैभन्दा कमजोर टिम हो । नेपाल फिफा वरीयता अनुसार १६१ औं स्थानमा छ भने जोर्डन ९१, कुवेत १४६ र नेपालभन्दा एक स्थानमाथि इन्डोनेसियाको १६० वरियता छ ।

हुन त नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम एसिया कपमा छनौट हुन नसक्ने बताइसकेका छन् । उनले भनेका छन्, “हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो कि हामी छनोट हुन सक्दैनौं ।” अल्मुताइरीको भनाइको खेलाडी स्वयंले विरोध गरेका छन् । उनीहरुले भनेका छन्, ‘खेल जित्नका लागि खेलिन्छ । हाम्रो प्रयास जितका लागि हुनेछ र हामी अन्तिम समयसम्म पनि प्रयास गर्नेछौं ।’ 

नेपालको पहिलो प्रतिद्वन्द्वी रहेको जोर्डनले भने पछिल्ला तीन संस्करणमा एसियन कपमा लगातार सहभागिता जनाइरहेको छ । फिफा वरियतामा ९१ औं स्थानमा रहेको जोर्डन, एसियन राष्ट्रहरुमा भने १५ औं स्थानमा छ । जोर्डन देशलाई फुटबल खेलमा अरब राष्ट्रहरु मध्येकै कमजोर मानिन्थ्यो तर केही वर्षयता जोर्डनले फुटबलमा धेरै प्रगति गरिसकेको छ। जोर्डनले आफ्नो पछिल्ला १० खेलमा ७ वटामा जित र ३ वटामा मात्र हारको सामना गरेको छ। जोर्डनको पछिल्लो खेल जनवरीमा भएको थियो । सो खेलमा जोर्डनले न्युजिल्यान्डलाई ३—१ ले हराएको थियो।

जोर्डनविरुद्ध नेपालको रेकर्ड भने राम्रो छैन । नेपालले अहिलेसम्म जोर्डनसँग खेलेको चार खेल मध्ये ३ वटामा हार र एकमा बराबरी नतिजा निकालेको छ। सन् २०११ को विश्वकप छनौट अन्तर्गत दोस्रो चरणमा नेपालले जोर्डनसँग पहिलो लेगमा ९–० को फराकिलो हार बेहोरेको थियो।

तर त्यसपछि नेपालले घरेलु मैदानमा सुधारिएको प्रदर्शनी गर्दै १–१ को बराबरी  गरेकोे थियो । यसैगरी जोर्डनसँग अर्को भेट कतार विश्वकपका लागि छनौट खेलमा नेपालले जोर्डनविरुद्ध एउटै समूहमा रहेर प्रतिस्पर्धा गरेको थियो । 

ती दुवै भेटमा नेपाललाई जोर्डनले ३–० ले हराएको थियो । तर जोर्डन फुटबल टोलीको पछिल्ला प्रदर्शनलाई नजर लगाउने हो भने जोर्डनलाई समूहकै सबैभन्दा बलियो टोली मान्न सकिन्छ । पछिल्लो पाँच खेलमा साउदी अरेबिया र न्युजिल्यान्डलाई सहजै हराएको जोर्डनले नेपालविरुद्ध पनि शतप्रतिशत जितका लागि मैदान उत्रने बताएको छ । सन् २०२१ को अरब कपमा पनि राम्रो प्रदर्शन गर्दै अन्तिम आठसम्मको यात्रा तय गरेको जोर्डन इजिप्टसँग ३-१ ले पराजित भएपछि रोकिएको थियो । 

नेपाल र कुवेतले अहिलेसम्म मैत्रीपूर्ण खेलमा मात्रै प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा नेपाल पराजित भएको छ । पहिलो २ वटा खेलमा नेपालको खेल निकै राम्रो थियोे तर तेस्रो खेलमा भने नेपाल ७-० ले कुवेतसँग हारेको थियो । यसैगरी नेपाल र इन्डोनेसियाको भेट एक पटक मात्र भएको छ । सो मैत्रीपूर्ण खेल पनि नेपालले २-० ले इन्डोनेसियालाई सुम्पिएको थियो । अल्मुताइरी नेपाली टोलीको रणनीति तयार भइसकेको र हर एक टोलीहरुलाई बलियो प्रतिस्पर्धा दिने बताउँछन् । तालिका अनुसार नेपाली टोली केही समय नेपालमै अभ्यास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेल खेलेर उतैबाट कुवेत जानेछ। 

खेल तालिका:
नेपालविरुद्व जोर्डन: (८ जुन २०२२)
नेपालविरुद्व कुवेत: (११ जुन २०२२)
नेपालविरुद्व इन्डोनेसिया: (१४ जुन २०२२)

नेपाली टोली:
गोलकिपरः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी 
मिडफिल्डरः आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ ।

खेलकुद

प्रकाशित: १२ बैशाख २०७९ ०६:५८ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी