चेन्नई सुपर किंग्सको कप्तानीमा पुनः फर्किए महेन्द्रसिंह धोनी

चेन्नई सुपर किंग्सको कप्तानीमा पुनः फर्किए महेन्द्रसिंह धोनी


महेन्द्रसिंह धोनी चेन्नई सुपर किंग्सको कप्तानीमा पुनः फर्किएका छन्। जारी आइपीएलमा आठ खेलको जिम्मेवारी पूरा गरि रविन्द्र जडेजाले कप्तानीबाट राजीनामा दिएका छन् । 

भारतका ३३ वर्षीय अलराउन्डर जडेजाले २०२२ को इन्डियन प्रिमियर लिग सिजनको सुरुमा ४० वर्षीय विकेटकिपर धोनीबाट क्याप्टेनसिपको जिम्मेवारी पाएका थिए । डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले यो सिजन ८ वटा खेल मध्ये दुई वटा खेलमा मात्र जित निकाल्न सकेको छ । जारी सिजनमा चेन्नई आइपीएल तालिकाको १० सहभागी टोलीमध्ये नवौं स्थानमा छ । 

धोनीले सन् २००८ देखि चेन्नई सुपर किंग्सको क्याप्टेनसिपमा चार वटा आईपीएल उपाधि जितिसकेका छन् । रविन्द्र जडेजाले “आफू खेलमा बढी ध्यान केन्द्रित गर्न कप्तानी छाड्ने निर्णय गरेको बताए । पूर्व क्याप्टेन धोनी जितको आधारमा आइपीएल इतिहासमै सबैभन्दा सफल कप्तान हुन् । उनले खेलेका २०४ मध्ये १२१ खेलमा जित निकालेका छन् । 

धोनीले २०१६/१७ बाहेक प्रत्येक आईपीएल सिजनमा सिएसकेको कप्तानी गरेका छन् । सन् २०१६/१७ मा चेन्नई सुपर किंग्स भ्रष्टाचार काण्डमा दुई वर्षको लागि निलम्बनमा परेको थियो ।

Logo