तीन म्याचको टी-२० सिरिज बराबरीमा

तीन म्याचको टी-२० सिरिज बराबरीमा

केन्द्रबिन्दु
0
Shares

नेपाल र जिम्बाब्वे 'ए' बीचको तीन म्याचको टी-२० क्रिकेट सिरिज बराबरीमा सकिएको छ । 

त्रिवि क्रिकेट मैदान भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकाल्दै नेपालले सिरिजमा बराबरी गरेको हो । पहिलो खेलमा जिम्बाब्वे ६ विकेटले विजयी भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । 

तेस्रो खेलमा आज जिम्बाब्वेले दिएको १३७ रनको मध्यम लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा आसिफ शेखले नटआउट ८७ रन बनाए । ५४ बलको सामाना गरेका आसिफले १३ चौका र एक छक्काको मद्दतमा ८७ रनको उल्लेख्य पारी खेले । 

बसिर अहमदले १० रन जोडे । कुशल भुर्तेल ३४ रनमा ब्रेन्डोन माभुताको बलमा बोल्ड भए । नटआउट रहेपनि दीपेन्द्रसिंह ऐरीले खाता खोल्न पाएनन् ।  

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाब्वे 'ए' ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३६ रनको मध्यम योगफल तयार पारेको थियो । 

जिम्बाब्वेका लागि रोए कैयाले ४९ र टाडिवानासे मारुमनीले २७ रन बनाए । लुक जोङ्वे २३ रनमा नटआउट रहे । 

नेपालका लागि क्याप्टेन सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमदले समान एकएक विकेट झारे ।  जिम्बाब्वेका ३ जना ब्याट्सम्यान रन आउट भएका थिए । 

नेपाल भ्रमणमा रहेको जिम्बाब्वेले अब तीन म्याचको वन डे सिरिज खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ ।  

Logo