विश्वकप लिग टु : नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

विश्वकप लिग टु : नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै


अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गतकाे सिरिजमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

खेल टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ : १५ बजे सुरु हुनेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा मैदान उत्रनेछ । पछिल्लो खेलमा अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ रनको सानदार जित हात पारेको थियो । 

त्यसैले अमेरिकाको मनोबल उच्च छ । यसै गरी ओमानले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ९८ रनमा अल आउट भएको थियो । पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले उक्त खेलमा गरेको गल्ती सुधार गरेर अमेरिकाविरुद्ध मैदान उत्रने लक्ष्यमा छ। 

यसअघि लिग २ मा नेपाल र अमेरिकाबीच चार खेलमा भएका छन्। जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।

अंक तालिका
१. ओमान ३४ खेलमा ४२ अंकसहित शीर्ष स्थानमा रहेको छ । 
२. स्कटल्याण्ड २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । 
३. यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । 
४. अमेरिका २१ खेलबाट २० अंकसहित चौथो स्थानमा छ ।
५. नामिबिया १४ खेलबाट १४ अंकसहित पाँचौं स्थानमा छ । 
६. नेपाल १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । 
७. पपुवा न्यूगिनी २० खेलबाट मात्र २ अंकसहित पुछारमा छ ।

Logo