एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो टाेली कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २(० गोलले पराजित भएको थियो । त्यस्तै कुवेत पनि आफ्नो पछिल्लो खेलमा इन्डोनेसियासँग हारेको थियो ।
जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई कुवेत विरुद्व मौका दिने योजनामा छन् । त्यसैले दोस्रो खेलमा नेपाली टोलीमा कुनै परिवर्तन हुने छैन । जोर्डनविरुद्ध डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक दीप कार्की पहिलो रोजाईमा रहने सम्भावना छ । टोलीसँग कप्तान नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, सुमन अर्याल, गौतम श्रेष्ठ, विकास तामाङ, पुजन उपरकोटी, सन्तोष तामाङ, एरिक विष्ट, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्कीलगायत खेलाडीको साथ रहेको छ ।
नेपालले सन् १९८२ देखि हालसम्म कुवेतविरुद्ध आठपटक प्रतिस्पर्धा गर्दा सातवटामा नेपालले पराजय भोगेको छ। अर्थात् नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले हालसम्म कुवेतसँग खेलेका ८ खेलमा ३० गोल खाएको छ भने जम्मा एक गोल सन् १९८० मा वाईबी घलेले गरेका थिए । नेपाल रहेको समुर्ह ए’ मा नेपालसहित जोर्डन,इन्डोनेसिया र कुवेत रहेका छन् ।
प्रतिक्रिया