आईसीसी विश्वकप लिग टुमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडे

आईसीसी विश्वकप लिग टुमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल र अमेरिका बराबरी खेलेका छन् । 

विहान सकिएको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका हुन् ।  २ सय ७५ रनको लक्ष्य पाएकाे अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनाउन सक्याे । नेपालका मोहम्मद अदिल आलमले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए । 

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेख, देव खनाल र रोहितकुमार पौडेलले अर्धसतकको पाली खेले ।  रोहितले सबैभन्दा धेरै ६२ रन बनाए । आसिफले ६१ रन बनाउँदा देवले ५४ रन बनाए । डेब्यू गरेका आदिल अन्सारीले ३६ रन बनाए । 

कुशल भुर्तेलले १९ रन बनाए। कप्तान सन्दीप लामिछानेले १० रन बनाए । आरिफ शेख ८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सुशन भारीले एक रन बनाउँदा करण केसी शून्यमा पवेलियन फर्किए । अमेरिकाका लागि स्टेभन टेलरले सर्वाधिक ११४ रन बनाए । त्यस्तै मोनाक पटेलले ८५ रनको पाली खेले। 

यस्तै यरोन जोन्सले २६ रन बनाए । अमेरिकाका रुस्टी थेरोनले चार विकेट लिए । अली खान र सौरभ नेत्रभालकरले समान दुई विकेट लिए । नेपालले आजको खेलमा बराबरी गरेसँगै एक अंक प्राप्त गरेको छ । यो अंकसँगै नेपालको १४ खेलबाट १३ अंक भएको छ।  नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो।

Logo