फुटबलको सर्वोच्च संस्था इन्टरनेश्नल फेडेरेसन अफ एसोशिसन फुटबल (फिफा) ले अखिल भारतीय फुटबल महासंघमाथि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा तेस्रो शक्ति हाबी भएको भन्दै फिफाले तत्कालै लागु हुनेगरी अनिश्चितकालका लागि भारतमाथि सो प्रतिबन्ध लगाएको हो ।
किन लगाइयो प्रतिबन्ध ?
तेस्रो पक्षको अनावश्यक हस्तक्षेपलाई उद्धृत गर्दै फिफाले सोमबार राति यो कठोर निर्णय गरेको हो । फिफाले भारतमाथिको यो निलम्बन तत्काल लागू हुने जनाएको छ । फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, “एआईएफएफ (अखिल भारतीय फुटबल महासंघ) ले आफ्नो कार्यकारी समिति घोषणा नगरेसम्मका लागि यो निलम्बन हट्ने छैन ।’
सर्वोच्च अदालतको हस्तक्षेपपछि भारतमा फुटबलको सम्पुर्ण कामकारबाही प्रशासक समिति (सीओए) ले हेरिरहेको छ । सर्वोच्च अदालतले नियुक्त गरेको प्रशासकीय समितिले निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचन भदौ २८ गते हुने भएको छ । तर सबै विवादको मूल अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) का पूर्व अध्यक्ष र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता प्रफुल्ल पटेल हुन । सन् २००४ मा युपीए सरकारमा नागरिक उड्डयन मन्त्री रहेका प्रफुल्ल पटेल सन् २००९ पछि लगातार २०२२ सम्म फुटबल महासंघको अध्यक्ष बनेका थिए ।
भारतको खेलकुद संहितामा कुनै पनि व्यक्ति ३ पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने उल्लेख छ । पटेलले डिसेम्बर २०२० मा संघको अध्यक्षको रूपमा आफ्नो तीन कार्यकाल र १२ वर्ष पूरा गरिसकेका थिए । विवादबीच पटेलले भारतीय फुटबल प्रतिबन्धमा जानसक्ने बताउदै आएका थिए । उनले यस विषयमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौरासँग पनि कुरा गरी भारतीय फुटबल संघलार्ई कडा कारबाही’ नगर्न अनुरोध गर्दै आएका थिए । तर, फिफाले तेस्रो पक्षको हस्तक्षेप बढेको भन्दै भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धपछि भारतले के–के गुमाउने छ ?
निलम्बनको अर्थ अब भारतले कुनै पनि अन्तर्राष्ट्रिय फुटबलमा सहभागीता जनाउन पाउने छैन भने आयोजना पनि गर्न रोक लगाइएको छ । भारतले अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू–१७ महिला विश्वकपको आयोजना गर्न पाउने छैन । यो प्रतिबन्ध भारतीय फुटबलका लागि निकै ठूलो धक्का हो । भारतको पुरुष र महिला राष्ट्रिय टोलीसँगै उमेर समूहका कुनै पनि टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइनेछ ।
साथै, भारतका फुटबल क्लबहरूले एएफसी महिला क्लब च्याम्पियनसिप, एएफसी कप र एएफसी च्याम्पियन्स लिग प्रतियोगितामा भाग लिन पाउने छैनन् । यद्यपि, इन्डियन सुपर लिग र आई–लिग जस्ता भारतीय क्लब प्रतियोगिताहरू फिफाले लगाएको प्रतिबन्धबाट सुरक्षित हुनेछन् । यो प्रतिबन्धका कारण भारतले सन् २०२३ को एएफसी कप छनोट खेल्ने पाउनेछैन । जबकी भारत यो प्रतियोगिताको लागि पहिले नै छनोट भइसकेको थियो ।



































प्रतिक्रिया