नेपाली क्रिकेट टोली केन्या उड्यो

नेपाली क्रिकेट टोली केन्या उड्यो

केन्द्रबिन्दु
0
Shares

ट्वान्टी–२० र एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली केन्या उडेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अपरान्ह ४ बजे केन्या उडेको हो  ।

लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीमा १६ सदस्य छन् । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पहिलो पटक सिनियर टिममा अटाएका छन् ।

पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला राष्ट्रिय टोलीमा छैनन् । काठमाडौंमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर नेपाल क्रिकेट संघ क्यानले टोलीको बिदाई ग¥यो । टोलीलाई क्यान अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतले बिदाई गरे ।

बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । प्रशिक्षकका रुपमा प्रभाकरको यो पहिलो भ्रमण हो ।

केन्या भ्रमणका क्रममा नेपालले ५ म्याचको टी–२० र ३ म्याचको वन डे क्रिकेट सिरिज खेल्नेछ ।  ट्वान्टी–२० सिरिज भदौ ९ देखि १४ गतेसम्म हुनेछ ।  ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ देखि २० गतेसम्म हुनेछ ।

दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमणपछि नेपाली टोलीले नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन–२ खेल्नेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित प्रतियोगिताका लागि केन्या भ्रमण युवा टोली र नयाँ प्रशिक्षकका लागि अर्थपूर्ण तरिकाले हेरिएको छ ।

Logo