फ्रेन्चाईज फुटबल ‘नेपाल सुपर लिग’ वैशाख ११ गतेबाट

फ्रेन्चाईज फुटबल ‘नेपाल सुपर लिग’ वैशाख ११ गतेबाट


नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरबाट ७ टिमको सहभगिता रहनेछ । टिम र टिम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउनेछन् । खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्याइने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भनेपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले दुई वर्ष अघि नै लिग आयोजना गर्ने घोषणा गरेको थियो । तर, म्यानेजमेन्टका सीईओ सुदिप शर्माले रंगशालाको पुनर्निर्माण र कोरोना भाइरसको कारण लिग समयमा गर्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिइएको बताए । यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगिता फ्रेन्चाइजको रुपमा रहने बताउँदै सहिद स्मारक लिग र नेसनल लिगलाई एन्फाले अघि बढाउने बताए ।

Logo