लोकप्रिय बन्दै ‘जुम भिडियो कन्फ्रेन्स’

लोकप्रिय बन्दै ‘जुम भिडियो कन्फ्रेन्स’


काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण सरकारले चैत्र ११ गतेदेखि आगामी वैशाख ३ गतेसम्म मुलुकैभरी लकडाउन गरेको छ ।

यतिबेला कोरोना संक्रमणबाट बच्न विश्वका करोडौँ मानिसहरु आफ्नै घरभित्र बस्न बाध्य छन् । पछिल्लो समय सरकारले पनि कडाईका साथ लकडाउनको कार्यान्वयन गराइरहेको छ । यस्तो अवस्थामा संसारभरीका अति आवश्यक बाहेकका सबै सेवा उद्योग, कल कारखाना, पर्यटन क्षेत्र लगायत सबै बन्द अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा घरमै बसेर कार्यालय संचालन गर्नुको विकल्प छैन । जसका लागि जुम एप्स निकै लोकप्रिय बन्दै गइरहेको छ । गत फेब्रुअरीमा अमेरिकामा यो एप्सले निकै लोकप्रियता पाएको थियो । अहिले अमेरिकासहित नेपाल भारत, जापान, बंगलादेश, युरोपियन मुलुकहरु लगायतका मुलुकमा जुम एप निकै लोकप्रिय बन्दै गइरहेको छ ।

यसको माध्यमबाट विभिन्न क्षेत्रका मानिसहरुले आफ्नो कार्यालय संचालन गर्दै आएका छन् । जुम एप्समा खाता खोलेपछि कन्फ्रेन्स (मिटिङ) आह्वान गर्न तथा सो खाताको आइडी नम्बर र पासवर्डको माध्यमबाट मिटिङमा सहभागी हुन सकिने व्यवस्था छ । जुमको माध्यमबाट संसारको कुनै पनि ठाउँबाट भिडियो संवादमा सरिक हुन सकिने भएकाले यसको लोकप्रियता बढेको हो । जुम एप्स कार्यालय मिटिङ वा संवादका लागि मात्रै नभएर विभिन्न शैक्षिक कक्षाहरु पनि संचालन गर्न उत्तिकै उपयोगी भएको छ ।

लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएको यस्तो परिस्थितिमा नेपालमा पनि अधिकांश क्षेत्र जुम एप्सको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । यतिबेला बैंकिङ, बीमा, उद्योग, व्यवसाय, पर्यटन लगायतका क्षेत्रमा जुम लोकप्रिय बनेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले एकै पटकमा धेरै जना संवाद गर्न सक्ने भएकाले आकर्षण बढेको बताए । यतिबेला बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न डिजिटल बैकिङमा जोड दिइरहेका बेला डिजिटल संवादले घरमै कार्यालय भएको आवास दिएको अध्यक्ष दाहालको भनाइ थियो ।

त्यसैगरी, बीमा कम्पनीहरुले पनि जुमको माध्यमबाट कार्यालय नै चलाएको प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले बताए । ‘पछिल्लो समय जुम प्रयोग गर्नुको विकल्पै छैन ।’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

त्यसैगरी उद्योगी, व्यवसायीहरुले पनि जुमलाई महत्वपूर्ण संवादको माध्यमका रुपमा लिएका छन् । उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले जुम एप्स निकै प्रभावकारी रहेको बताए । ‘नयाँ एप्स जुम निकै प्रभावकारी सावित भएको छ ।’ अध्यक्ष मोरले भने । जुमको माध्ययमबाट भिडियो संवाद गर्दा भौतिक उपस्थितिको अनुभूति भएको उनले बताए । परिसंघले आफ्ना कार्यालयका काम तथा मिटिङ जुमको माध्यमबाट गरिरहेको छ ।

जुम एप्सको प्रयोगप्रति बैंक तथा वित्तीय संस्था, बीमाक्षेत्र, उद्योगी तथा पर्यटन व्यवसायीहरु मात्र होइन, पत्रकारिता क्षेत्र पनि उत्तिकै आकर्षित भएको छ । यतिबेला अधिकांश संचार माध्यमहरुका संचारकर्मीहरु घरमै बसेर काम गर्न बाध्य छन् । उनीहरुले पनि जुमको प्रयोगबाट दैनिक मिटिङ गर्दै आएका छन् ।

संचार माध्यमहरुले पनि विभिन्न अन्तर्क्रिया कार्यक्रम पनि जुमकै माध्यमबाट संचालन गरिरहेका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले पनि जुमको प्रयोगबाट कार्यसमिति मिटिङ गर्दै आएको छ । सेजनले बुधबार मात्रै कोरोना संकटका बेला कसरी आर्थिक पत्रकारिता गर्ने भन्ने विषयमा अन्तर्क्रिया समेत गरेको छ । सेजनका अध्यक्ष भीमप्रसाद गौतमले धेरै जनालाई एकै पटकमा समेट्न सजिलो भएकाले जुम एप्सको प्रयोग गरेको बताए ।

के हो जुम एप्स ?

पछिल्लो समय जुम क्लाउड मिटिङ एप्लिकेसन विश्वभरी भिडियो संवादका लागि आकर्षित बन्दै गएको छ । यसका बारेमा मानिसहरु पनि जानकारी हुँदै गइरहेका छन् । यो एप्स सन् २०१४ जनवरी २४ मै गुगल प्ले स्टोरमा सार्वजनिक भएको थियो । तर यसको प्रयोग विदेशी मुलुकहरुमा केही मात्रामा भएपनि नेपालमा त्यति भएको थिएन । अहिले मानिसहरु बाहिर निस्कन नपाएपनि इन्टरनेटको पहुँच जहाँ छ त्यहाँ यो एप्स लोकप्रिय बनेको देखिन्छ । जुम एप्सबाट विभिन्न खालका मिटिङ, अध्ययन, अन्तर्क्रिया तथा छलफल कार्यक्रम गर्न तथा सहभागी हुन सकिन्छ । यसलाई गुगल प्ले स्टोरबाट १० करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ । यसलाई पछिल्लो पटक २४ मार्च २०२० मा अपडेट गरिएको छ ।

यस एप्सबाट एकैपटक १०० जनासम्म मानिसलाई अनलाईनबाट मिटिङ गर्न र सहभागी गराउन सकिन्छ । यसमा स्क्रीन शेयर गर्ने तथा एचडी भिडियो कलिङ सेवा पनि उपलब्ध छ । यस एप्समा मिटिङ वा अध्ययन गर्दा आईडी बनाएर वा नबनाएर पनि सहभागी हुन सक्ने व्यवस्था छ । यस एप्समा फ्रि भर्सनको सुविधा पनि रहेको छ । फ्रि भर्सनमा ४०–४० मिनेटमा भिडियो कलिङ रोकिन्छ र फेरि कल गर्न सकिन्छ । तर पेड भर्सनमा भने समयको कुनै सीमा तोकिएको छैन । जति पनि गर्न सकिन्छ ।

यो पनि

लकडाउनको विकल्प ‘अनलाइन क्लास’, त्यो पनि आफ्नै सफ्टवेयरबाट

Logo