नेपालकै पहिलो अनलाइन प्राविधिक महोत्सव ‘डेल्टा २.०’ आयोजना हुँदै

नेपालकै पहिलो अनलाइन प्राविधिक महोत्सव ‘डेल्टा २.०’ आयोजना हुँदै

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूले नेपालकै पहिलो अनलाइन प्राविधिक महोत्सव आयोजना गर्ने भएका छन्। डेल्टा २.० नाम दिइएको यस महोत्सवको पहिलो संस्करण ‘डेल्टा’ भौतिकरूपमा सञ्चालन गरिएको थियो भने यसपटक कोरोना महामारीका कारण पूरै महोत्सव अनलाइन हुने आयोजकले बताएका छन्।

पूर्वाञ्चल क्याम्पसका ७ इन्जिनियरिङ विभागका विद्यार्थी समाजहरू यस कार्यक्रमका संयुक्त आयोजक रहेका छन्।

थ्रिडी मोडलिङ प्रतिस्पर्धा, मल्टिमिडिया एक्जिविसन, कम्प्युटर कोडिङको प्रतिस्पर्धा ‘कोडाथन’, म्याटल्याब सफ्टवेयरबाट मोडलबेस्ड डिजाइनिङ प्रतियोगिता र अन्तरकलेज प्रस्तुति प्रतिस्पर्धा गरि पाँचवटा मुख्य कार्यक्रम डेल्टा २.० मा समावेश हुने भएको छ। थ्रिडी मोडलिङ प्रतिस्पर्धाका बिजेताका लागि ५० हजार रूपैंयाँ र बाँकी प्रतिस्पर्धाका लागि ३० हजार रूपैंयाँ राशीको व्यवस्था आयोजकले गरेका छन्। 

६ देखि ८ श्रावणसम्म हुन गइरहेको मूल कार्यक्रमका लागि सोमबार राति १२ बजेबाट आवेदन खुला गरिने आयोजकले जानकारी दिएका छन्। भौतिकरूपमा पहिलो संस्करण आयोजना भएको र कोरोना महामारीका कारण अनलाइन जानुपरेको भए पनि प्रविधिमा चासो राख्नेहरूसम्म पुग्न दोस्रो अनालाइन महोत्सव सहयोगी हुने अपेक्षा आयोजक समितिका संयोजक सुदीप विष्टको रहेको छ। 

डेल्टा २.० ले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूलाई मात्र लक्षित नगरेको र प्रतिस्पर्धाका लागि आवश्यक पर्ने प्राविधिक सीप भएका जो कोहीले आवेदन दिन सक्ने जानकारी आयोजक समितिका उपसंयोजक सुदीप भाइ सुवेदीले सोमबार पत्रकार सम्मेलनमार्फत् दिएका छन्। 

अर्का संयोजक सम्राट जेनम महतराले प्रयोगात्मक परीक्षणले विद्यार्थीहरूका लागि आफ्नो प्राविधिक ज्ञानलाई अझ परिस्कृत बनाउने भएकाले उक्त महोत्सवको विशेष महत्व रहेकोमा जोड दिए।

डेल्टा २.० का मूल कार्यक्रम सुरु हुनु अघि सहायक कार्यक्रम पनि आयोजना भइरहेको छ, जसमा ८ कक्षासम्मका विद्याथीहरूका लागि वक्तृत्वकला प्रतियोगिता र सबैका लागि इन्स्टाग्राम फोटोग्राफी प्रतियोगिता र विभिन्न विषयहरूबारे वेबीनार पर्दछन्।

मुख्य प्रायोजक फोन पे रहेको यस महोत्सवमा एनआइसी बैंक धरान, वर्ल्डलिंक, किरु इन्जिनियरिङ कन्सल्टेन्ट, दराज डट कम, माई परीक्षा, कोड आइटी र केटिएम कन्सल्टिङ ग्रुपले सहयोग गरेका छन्।

Logo