टेलिग्राम प्रयोग गर्नुहुन्छ?, जोखिम यसरी झन् कम भएको छ

टेलिग्राम प्रयोग गर्नुहुन्छ?, जोखिम यसरी झन् कम भएको छ


सम्पर्कमा रहनका लागि मानिसहरूले ‘टेलिग्राम’ एप्पको प्रयोग बढ्दो छ। सन् २०१३ मा सुरु भएको एप्पमा सन् २०१४ मा प्रयोगकर्ताको संख्या ३.२ करोड रहेको थियो जुन सन् २०२० मा ४० करोड पुग्यो। टेलिग्रामले सन् २०२१ मा आफ्ना मासिक प्रयोगकर्ता ५० करोड रहेको जनाएको छ। उसको लक्ष्य सन् २०२२ सम्ममा एक अर्ब प्रयोगकर्ता बटुल्ने रहेको छ। 

फेसबुक मेसेन्जर, भाइबर र व्हाट्स एप्प जस्तै टेलिग्राम एप्पको प्रयोग पनि सन्देश आदानप्रदानका लागि हुने गर्छ। टेलिग्रामको मुख्य आकर्षण नै यसले प्रदान गर्ने गोपनीयता र सुरक्षालाई लिँदै आइएकोमा वैज्ञानिकहरूले यसमा रहेको सुरक्षा कम्जोरी पत्ता लगाएका थिए। र, त्यसै अनुसार टेलिग्रामले पनि आफ्नो एप्पमा परिवर्तनहरू ल्याएको छ। 

युनिभर्सिटी अफ लण्डनका वैज्ञानिकहरूले टेलिग्राममा प्रयोग हुने इन्क्रिप्सन प्रोटोकलको सुरक्षा विश्लेषण गरेका थिए। 

सूचना चुहावट हुनबाट जोगाउने विधीलाई क्रिप्टोग्राफी भनिन्छ। हामीले दैनिक इन्टरनेट, फेसबुक वा टेलिग्राम प्रयोग गर्दा यसबाट सुरक्षा लिइरहेका हुन्छौँ। ती वैज्ञानिकहरूले टेलीग्रामको प्रोटोकलमा क्रिप्टोग्राफीगत कम्जोरीहरू पत्ता लगाएका हुन्। 

अनुसन्धानमा संलग्न प्राध्यापक मार्टिन अबलेर्टले भने,‘हाम्रो अध्ययनले प्राय प्रयोगकर्ताका लागि न्यून प्रभाव हुने पत्ता लगाएको छ। तर, टेलिग्रामको क्रिप्टोग्राफी प्रोटोकल ट्रान्स्पोर्ट लेयर सेक्युरिटि (टिएलएस) जस्ता प्रोटोकलभन्दा कमजोर रहेको चाहिँ पाइयो।’

यस्तो खोजले उक्त प्रोटोकलको सुधारमा योगदान दिएको छ। खोजले औँल्याए अनुसारकै समस्याहरूको समाधान गरी एप्पको नयाँ संस्करण टेलिग्रामले बजारमा ल्याएको छ। 

Logo