५२ वर्षअघि निल आर्मस्ट्रंगले यसरी राखेका थिए चन्द्रमामा पहिलो पाइला…(भिडियो)

५२ वर्षअघि निल आर्मस्ट्रंगले यसरी राखेका थिए चन्द्रमामा पहिलो पाइला…(भिडियो)


चन्द्रमामा मानिसले पहिलो पाइला राखेको ५२ वर्ष पूरा भएको छ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको मानवसहितको यान ‘अपोलो ११’ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेको थियो। चन्द्रमामा मानवरहित यान पुर्याइसकेको अमेरिकाले यथेस्ट अध्ययन र अनुसन्धान गरेर तयार पारेको अपोलो–११ सफल भएरै छोड्यो।

अवतरणको ६ घण्टा ३९ मिनेटपछि यानमा सवार अन्तरीक्षयात्री निल आर्मस्ट्रंगले चन्द्रमामा पाइला राखे। त्यसको १९ मिनेटपछि अर्का अन्तरीक्षयात्री बज एल्ड्रिनले पनि चन्द्रमामा पाइला राखे। चन्द्रमाको सतहमा सवा दुई घण्टा बिताएर उनीहरूले साँढे २१ केजी सामग्री अध्ययनका लागि जम्मा गरे। यानभित्र र बाहिर गरेर २१ घण्टा ३६ मिनेट समय उनीहरूले चन्द्रमामा बिताए। एल्ड्रिन र आर्मस्ट्रंगले उनीहरू अवतरण गरेको ठाउँलाई ट्रेन्क्विलिटी अर्थात् शान्ती बेस नाम दिएका थिए। चन्द्रमामा कुन ठाउँमा अवतरण गर्ने भनेर अध्ययन गरी पाँच ठाउँलाई अवतरण विकल्पका रूपमा नासाले छनौट गरेको थियो। 

चन्द्रमामा आर्मस्ट्रंगले पहिलो पाइला राख्दै गरेको क्षण टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो। आर्मस्ट्रंग आफैंले उक्त घटनालाई ‘एक मानवको सानो पाइला, तर मानवजातीको ठूलो छलाङ’ भनेर व्याख्या गरेका थिए। आर्मस्ट्रंग र एल्ड्रिनका अर्का सहयात्री भने चन्द्रमाको परिक्रमा गरिरहेको कोलम्बिया नामक यानमा रहेका थिए। 

अपोलो–११ को इगल नामक भागले चन्द्रमाको अवतरण गर्ने र अर्को कोलम्बिया नामक भाग चन्द्रमाको परिक्रमा गर्दै इगलको फिर्ता हुन्जेल प्रतिक्षा गर्ने अनि मिसन सफल भएपछि दुवै भाग एक भएर फर्किने तय गरिएको थियो। अन्तरीक्षमा ८ दिनभन्दा बढी बिताएर अपोलो–११ टोली २४ जुलाईमा प्रशान्त महासागरमा फर्किएको थियो। 

सन् १९५० र ६० को दशकमा संयुक्त राज्य अमेरिका र सोभियत संघबीच अन्तरीक्षयात्राको होडबाजी नै चलेको थियो। चन्द्रमामा मानिस उतारेर त्यस किसिमको प्रतिस्पर्धामा अमेरिकाले आफ्नौ बर्चस्व कायम गरेको मानिन्छ। अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले चन्द्रमामा मानव अवतरण गराएर पृथ्वीमा सफलतापूर्वक फर्काउने उद्देश्य लिएका थिए, जुन ८ वर्षको अन्तरालमा पूरा भएको थियो। चन्द्रमामा मानव अवतरणलाई त्यस समय यतिसम्म ठूलो मानिएको थियो कि कुनै पनि कुरालाई चन्द्रमामा भएको अवतरणसँग तुलना गरेर सम्भावित देखाइन्थ्यो। 

भिडियाे:

सन् २०१९ मा चन्द्रमामा सफल मानव अवतरणको सम्झनामा अमेरिकाले मुद्राहरू पनि निकालेको थियो। हाल मानवजगतको अन्तरीक्ष चासो मंगल ग्रहतर्फ छ। मंगल ग्रहमा मानिसको सफल अवतरण गराउने मात्रै नभई बस्ती नै बसाउने योजनामा निजी अन्तरीक्षविज्ञान कम्पनी स्पेस एक्सका सञ्चालक इलोन मस्क छन्।   
तस्बिरः अमेरिकी दूतावासको फेसबुकबाट

Logo