‘पासवर्ड’मा हेलचेक्रयाइँ नगुर्नस्, जोखिम निम्तिन सक्छ

‘पासवर्ड’मा हेलचेक्रयाइँ नगुर्नस्, जोखिम निम्तिन सक्छ


‘डिजिटल गार्जियन’ को एक अध्ययन अनुसार औसतमा एउटा इमेल ठेगानाको प्रयोगबाट १३० अनलाइन प्लेटफर्ममा खाता खोल्ने गरिन्छ। अझ, एक हजार मानिसमा गरिएको एक सर्भेमा ६१ प्रतिशत मानिसले विभिन्न अनलाइन प्लेटफर्ममा एउटै पासवर्ड प्रयोग गर्ने गरेको पाइयो। 

पासवर्ड अनलाइन सुरक्षाको मुख्य अस्त्र नै हो। त्यसै कारण यसलाई हलुका रूपमा लिनु राम्रो हुँदैन। तर पनि हामी जोकोही पासवर्डमा हेलचेक्र्याइँ गरिरहेका हुन्छौं। पासवर्डबारे यी पाँच खराब बानीदेखि टाढै रहनुहोस्ः

१. पासवर्ड भुलिराख्ने
कसैले पासवर्ड भुल्यो भन्ने सुन्दा हामीलाई खासै ठूलो कुरा नलाग्न सक्छ। अनलाइन संसार ठूलो हुँदै जाँदा इन्टरनेटमा हाम्रो उपस्थिति बढ्दै छ। यस्तो अवस्थामा हामी नयाँ–नयाँ अनलाइन प्लेटफर्ममा खाता खोल्दै जान्छौँ। भुल्नु एक हिसाबले स्वभाविकै हो। तर, यो राम्रो बानी भने होइन किनभने यसले यस्ता बानीको विकास गर्न सक्छ जसले दुर्घटना निम्त्याउन सक्छन्। त्यस्ता बानीमध्ये एक हो इन्टरनेटमा सबै ठाउँ एकै पासवर्ड प्रयोग गर्ने बानी।  

२. इन्टरनेटमा सबै ठाउँ एकै पासवर्ड प्रयोग गर्ने
यो पासवर्डसम्बन्धी सबैभन्दा जोखिमपूर्ण गल्ती हो। हुन त, धेरै वटा पासवर्ड सम्झन गाह्रो भएकाले धेरै वटा प्लेटफर्ममा एउटै पासवर्ट प्रयोग गर्ने बानी जोकोहीमा हुन सक्छ। तर, यस्तो बानीले जोखिम निम्त्याउन सक्छ। 

तपाईंले पासवर्ड प्रयोग गरेको कुनै एक वेबसाइट मात्रै ह्याक भएमा तपाईंका सबै अनलाइन प्लेटफर्मका खाताहरूमाथि जोखिम सिर्जना गर्छन्। तपाईंले बैंक खाता वा ‘अनलाइन पेमेन्ट गेटवे’ मा पनि अरू प्लेटफर्ममा राखिएकै पासवर्ड राख्नुभएको छ भने तपाईं वित्तीय जोखिममा हुनुहुन्छ। 

यदि तपाईंले धेरैवटा अनलाइन प्लेटफर्मको प्रयोग गर्नैपर्ने अवस्था छ भने पासवर्ड म्यानेजर प्रयोग गर्न सक्नुहुन्छ। 

३. एकदमै छोटो पासवर्ड राख्ने 
लामो पासवर्ड स्वभाविक रूपमै सम्झन गाह्रो हुन्छ। त्यसैले छोटो पासवर्ड (७–८ क्यारेक्टर) राख्ने बानी हामीमा हुन सक्छ। तर, छोटो पासवर्ड असुरक्षित हुने विज्ञहरू बताउँछन्। इन्टरनेटमा राम्रो सुरक्षाका लागि कम्तिमा १४ क्यारेक्टर (अक्षर) को पासवर्ड साइबर हस्तक्षेपबाट सुरक्षित रहने मानिन्छ। साथै विभिन्न संकेतको प्रयोगले पनि पासवर्डलाई दह्रो बनाउन सक्छ। यसरी राखिएको लामो पासवर्ड पनि पासवर्ड म्यानेजरको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ। 

४. पासवर्ड सेट गरेपछि परिवर्तन नगर्ने
तपाईंले फेसबुकमा राखेको पासवर्ड कत्तिको नियमित परिवर्तन गर्नुहुन्छ? इमेलको पासवर्ड अहिलेसम्म कतिपटक परिवर्तन गर्नुभयो? 

हामी प्रायः जसोलाई अरू कसैले अनुमान लगाउन नसक्ने किसिमको वा सजिलै पत्ता लगाउन नसक्ने किसिमको अर्थात् दह्रो पासवर्ड राख्नु महत्वपूर्ण छ भन्ने थाहा होला। तर, त्यत्तिकै महत्वपूर्ण नियमित रूपमा पासवर्ड परिवर्तन गर्नु पनि छ भन्ने थाहा नहुन सक्छ। 

नियमित पासवर्ड परिवर्तन गरेमा यति कुनै अनलाइन खाता ह्याक भइहाले पनि लामो समयसम्म त्यो स्थितिमा रहनबाट जोगिन्छ। त्यसैले अनलाइन सुरक्षाका लागि नियमित पासवर्ड परिवर्तन गर्नु जरुरी हुन्छ। एकचोटी राखिएको पासवर्ड कम्तीमा तीन–तीन महिनामा परिवर्तन गर्नुपर्ने सूचना प्रविधि विज्ञहरू बताउँछन्।

५. सेक्युरिटी प्रश्न–उत्तर परिवर्तन नगर्ने
इमेललगायत विभिन्न अनलाइन प्लेटफर्ममा ‘सेक्युरिटी’ प्रश्न राखिएको हुन्छ, जसको उत्तर दिएर प्रयोगकर्ताले पासवर्ड भुलेको बेला पनि खातामा पहुँच पुनः प्राप्त गर्न सक्छन्। 

इन्टरनेटमा विभिन्न जानकारी लिने बहानामा तपाईंको गोप्य जानकारी पनि कसैले लिन खोजिरहेको हुन सक्छ, जसलाई ‘फिसिङ’ भनिन्छ। त्यस्ता गोप्य जानकारी तपाईँले कुनै अनलाइन प्लेटफर्ममा सुरक्षाका लागि प्रयोग गरेको सेक्युरिटि प्रश्न–उत्तरसँग सम्बन्धित हुन सक्छन्। यसरी ‘फिसिङ’ मार्फत् चुहावट हुने जानकारी सुरक्षा हस्तक्षेप लागि प्रयोग हुने गरेको पाइन्छ। 

यस्तो हस्तक्षेपबाट बच्न तपाईंले आफ्ना गोप्य जानकारी चुहिन दिनु हुँदैन। यदि चुहावट भइहाले पनि नियमित सेक्युरिटि प्रश्न उत्तर परिवर्तन गर्नाले चुहावट भइहालेको खण्डमा पनि त्यस्ता जानकारी हस्तक्षेपका लागि प्रयोग हुन नसक्ने हुन सक्छन्। 

(याहु लाइफबाट भावानुवाद गरिएको)

Logo