पृथ्वीको तापक्रम २ दशकभित्र कम्तिमा १.५ डिग्री सेल्सियसले बढ्दैः आइपिसिसी

पृथ्वीको तापक्रम २ दशकभित्र कम्तिमा १.५ डिग्री सेल्सियसले बढ्दैः आइपिसिसी

केन्द्रबिन्दु
0
Shares

ग्रिनहाउस ग्याँसको उत्सर्जन (इमिसन) घटाए पनि पृथ्वीको औसत तापक्रम आउँदो दुई दशकमा कम्तिमा पनि १.५ डिग्री सेल्सियसले बढ्ने जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) को नयाँ अध्ययनले देखाएको छ। 

सन् १९५० यताका हरेक दशकमा तापक्रम बढ्दै गएको पनि अध्ययनमा संलग्न वैज्ञानिकहरूले पत्ता लगाएका छन्। साथै उनीहरूले ग्रिन हाउस ग्यासको मात्रा नघटाए तापक्रममा भारी मात्रामा वृद्धि हुने चेतावनी पनि दिएका छन्। 

साथै ग्रिनहाउस ग्याँसको उत्सर्जन (इमिसन) को आधारमा सन् २१०० भित्र पाँच परिदृश्यको प्रक्षेपण आइपिसिसीका वैज्ञानिकहरूले गरेका छन्। उत्सर्जन ‘अति उच्च’ भएको अवस्थामा ४.४ डिग्री सेल्सियस, ‘उच्च’ भएको अवस्थामा ३.६ डिग्री सेल्सियस, ‘मध्यम’ भएको अवस्थामा २.७ डिग्री सेल्सियस, ‘निम्न’ भएको अवस्थामा १.८ डिग्री सेल्सियस र ‘अति निम्न’ भएको अवस्थामा १.४ डिग्री सेल्सियसले सन् २१०० भित्र तापक्रम वृद्धि हुने प्रक्षेपण उक्त अध्ययनले गरेको छ। 

अहिले मानव गतिविधिबाट ४० अर्ब टन कार्बन उत्सर्जन हुने गर्छ। ‘अति निम्न’ उत्सर्जनको अवस्थामा पुग्न त्यस्तो उत्सर्जन सन् २०५० सम्ममा ५ अर्ब पुग्नुपर्ने हुन्छ। ‘मध्यम’ उत्सर्जनको अवस्थामा अहिले जति नै उत्सर्जन सन् २०५० मा हुनुपर्नेछ। साथै ‘अति उच्च’ उत्सर्जनको अवस्थामा सन् २०५० सम्ममा उत्सर्जन अहिलेको तुलनामा दोब्बर भइसकेको हुनुपर्छ। 
 

Logo