महान् वैज्ञानिक आइन्सटाइन, जसले नोबेल पुरस्कारको ३२ हजार डलर ‘डिभोर्स’का लागि श्रीमतीलाई दिए

महान् वैज्ञानिक आइन्सटाइन, जसले नोबेल पुरस्कारको ३२ हजार डलर ‘डिभोर्स’का लागि श्रीमतीलाई दिए


बिसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको नाम नसुन्ने व्यक्ति शायद कमै होलान्। उनी एक वैज्ञानिक मात्र नभएर दार्शनिक एवं आध्यात्मिक चिन्तक थिए। बौद्ध दर्शनलाई उनले निक्कै गहनतासाथ अध्ययन गरेर जीवनमा अपनाएका थिए। उनले बौद्घधर्म आगामी शताब्दीका लागि वैज्ञानिक अवधारणायुक्त धर्म हुने बताएका थिए।

‘अध्यात्मबिनाको विज्ञान लंगडो हुन्छ, विज्ञानबिनाको अध्यात्म अन्धो हुन्छ,’ आइन्सटाइनको महत्वपूर्ण कथन हो यो। उनको सापेक्षतावादको सिद्घान्त भौतिकशास्त्रमा अति चर्चित छ। उनले भौतिक शास्त्रमा नोबेल पुरस्कार समेत पाएका थिए।

आइन्सटाइनको बारेमा कतिपय रोचक तथ्य सबैलाई थाहा नहुन सक्छ, तिनैमध्ये एउटा तथ्य यहाँ राख्ने प्रयास गरिएको छः

कतिपयलाई खुल्दुली लाग्नसक्छ–नोबेल पुरस्कारबाट आएको पैसा आइन्सटाइनले के गरे होलान्। सन् १९२१ मा भौतिक शास्त्रमा नोबेल पुरस्कार बिजेता बनेका आइन्सटाइनले पुरस्कारबापत ३२ हजार २ सय ५० अमेरिकी डलर पाएका थिए। त्यसबेलाको समयमा त्यो रकम निक्कै ठूलो मानिन्थ्यो। अहिले नोबेल पुरस्कारको धनराशि ११ लाख ४५ हजार अमेरिकी डलर रहेको छ।

आइन्सटाइनले सन् १९०३, जुन ६ मा मिलेभा मेरिकसँग पहिलो विवाह गरेका थिए। तर, केही वर्षपछि उनीहरुको सम्बन्धमा खटपट सुरु भयो। त्यसपछि उनले सन् १९१९ मा उनले फेरि इल्सा आइन्सटाइनसँग दोस्रो विवाह गरे। 

अल्बर्ट आइन्सटाइनलाई नोबेल पुरस्कार घोषणा हुँदा उनी र मिलेभाबीच डिभोर्स गर्ने निर्णय भइसकेको थियो। तर, सम्पत्ति बाँडफाँटको कुरा मिलेको थिएन। मिलेभाले डिभोर्सबापत नोबेल पुरस्कारबाट आएको सबै रकम आफूले पाउनुपर्ने जिकिर गरिन्। 

त्यसमा आइन्सटाइनले सहमति जनाउँदै सहर्ष पुरस्कारको सबै रकम मिलेभालाई हस्तान्तरण गरे। त्यसपछि भने उनीहरुबीचको सम्बन्धको औपचारिक अन्त्य भयो।

त्यसपछि आइन्सटाइनले इल्सासँग बाँकी जीवन बिताए। उनका दुई छोरा र एक छोरी थिए। सन् १९५५ मा अमेरिकाको न्युजर्सीमा यी महान् वैज्ञानिकले संसारबाट बिदा लिए। बिरामी भएपछि आइन्सटाइनलाई न्युजर्सीको प्रिन्सटन अस्पतालमा भर्ना गरिएको थियो।

उनले प्राण त्याग्ने बेलामा नर्सहरुसँग जर्मन भाषामा कुरा गरेका थिए। तर, त्यहाँ रहेका नर्सहरुले भाषा नबुझेकाले उनले जीवनको आखिरी क्षणमा के भनेका थिए भन्ने कुरा अहिलेसम्म पनि सार्वजनिक भएको छैन। अहिलेसम्म पनि आइन्सटाइनलाई सर्वाधिक चर्चित वैज्ञानिकका रुपमा विश्वभर सम्मान गर्ने गरिन्छ। उनीसँगै मेरी क्युरी, न्युटन, डार्बिन, निकोला टेस्ला, ग्यालिलियो ग्यालिलीलगायत महत्वपूर्ण वैज्ञानिकको स्मरण गरिँदै आएको छ। (एजेन्सीको सहयोगमा)

Logo