‘हिमालहरुका बारेमा अध्ययन अनुसन्धान हामीले नगरे कसले गर्छ ?’ : मन्त्री भट्टराई

‘हिमालहरुका बारेमा अध्ययन अनुसन्धान हामीले नगरे कसले गर्छ ?’ : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय हिसावले पनि हिमाल पर्वतारोहण नेपालको हक भएको बताएका छन् ।

मन्त्रालय अन्र्तगतका कार्यालयहरुको अवस्था स्थलगतरुपमा बुझ्ने क्रममा विहिबार नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान पुगेका मन्त्री भट्टराईले विगतमा हामीले हाम्रो हिमाल चढ्न पनि विदेशमा तालिम लिनुपर्ने अवस्था रहेकोमा अहिले हामी आफैंले तालीम दिने अवस्थामा पुगेको उल्लेख गदै भने,–‘अब यतिले मात्र पुग्दैन, यहाँबाट उत्पादित जनशक्तिले विदेशमा गएर पनि तालिम/प्रशिक्षण दिनुपर्छ ।’

सानो क्लव जस्तो ठाऊँबाट एकेडेमी उद्योगकारुपमा विकास हुँदै गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले अब प्रतिष्ठानको दायरा फराकिलो हुनु पर्ने बताए । उनले भने, –‘हिमाल हाम्रो पहिचान हो । हिमाललाई हामीले जति आधुनिक र व्यवस्थित गर्छौं त्यति नै यसप्रतिको आकर्षण पनि बढ्दै जान्छ । यसले अन्तराष्ट्रिय सम्बन्ध पनि बढाउँछ र समग्रमा राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।’

‘हिमालहरुका बारेमा अध्ययन अनुसन्धान हामीले नगरे कसले गर्छ,’ मन्त्री भट्टराईले भने, –‘मन्त्रालय एक्लैले यी काम गर्न सम्भव हुदैन । हिमालका बारेमा सहकार्य गर्ने देश भित्र र बाहिर पर्याप्त संस्था पाईन्छ, स्पष्ट योजना बनाएर उनीहरुसमेतको सहकार्यमा अघि बढ्नु जरुरी छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हिमाल नेपालको विशेषता भएको उल्लेख गर्दै प्रतिष्ठान आफ्ना योजनामा प्रष्ट भए लगानीको समस्या नरहने प्रष्ट पारे । एकेडेमी कि अध्यक्ष लाख्पा फुटी शेर्पाले एकेडेमीले अहिलेसम्म गरेका काम र भावी योेजनाका बारेमा बताएकी थिइन् । कार्यक्रममा मन्त्री भट्टराईले एकेडेमीले प्रकाशित गरेको जर्नल ‘जर्नल अफ टुरिज्म एण्ड हिमालयन एडभेन्ट्र्चस’ को लोकापर्ण गरेका थिए ।

Logo