काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत कार्यलयका प्रवक्ता तथा सूचना अधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज बबरमहलस्थित नागरिक उड्डयन प्राधिकरणको सभाकक्षमा सम्पन्न कार्यक्रममा स्रोत व्यक्तिकारुपमा संचारविद् विष्णु रिजालले सहभागिहरुलाई प्रशिक्षित गराएका थिए ।
एकातिर संचारको माध्यमको बढ्दो र बदँलिदो प्रभाव, अर्कातिर संचारमाध्यम एवं संचारकर्मी र सरकारी निकायबीचको समन्वयमा देखिने जटिलतालाई सम्बोधन गर्न सहज होस् भन्ने उद्देश्यले यस खालको कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
स्रोत व्यक्ति रिजालले संचारमाध्यमको महत्व, प्रवक्ताको भूमिका, संचारमाध्यम÷संचारकर्मीको अपेक्षा, ती अपेक्षालाई ग्रहण गर्ने तथा सम्बोधन गर्ने तौरतरिका, संचारकर्मीसँगको नियमित सम्पर्क, सूचना प्रवाहका औपचारिक÷अनौपचारिक तरिका आदिबारे सहभागीहरुलाई प्रशिक्षित गराएका थिए । कार्यक्रममा सहभागीहरुले कार्यसम्पादनका क्रममा संचारमाध्यम तथा संचारकर्मीका प्रश्न सम्बोधन गर्ने क्रममा भोग्नु परेका अप्ठेराहरुको अनुभव सुनाउँदै ती खालका जटिलताको गाँठो फुकाउने उपायबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा मन्त्रालयका साथै मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, पर्यटन बोर्ड, नागरिक उडड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगम, पशुपति विकास कोष, लुम्बिनी विकास कोष, नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम), हवाई क्षमता अभिबृद्धि आयोजना, प्रज्ञा प्रतिष्ठानका प्रवक्ता तथा सूचना अधिकारीहरुको सहभागिता थियो ।































प्रतिक्रिया