धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकको आकर्षणकाे केन्द्र बन्दै विगु गुम्बा

धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकको आकर्षणकाे केन्द्र बन्दै विगु गुम्बा


 उत्तरी दोलखाको विगु गाउँपालिका–७ मा पर्ने विगु गुम्बा धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकहरू को संगमस्थल बन्दै गएको छ । हिमाली गाउँ विगुमा रहेको यो गुम्बा पछिल्लो समय आकर्षक गन्तव्यको केन्द्र बन्दै गएको छ । विगुसम्म पुग्ने सडक सञ्जाल विस्तार भएपछि सो गुम्बामा दर्शन गर्न र घुम्न जाने मानिसहरुको संख्या बढ्दै गएको छ ।दोलखाको सदरमुकाम चरिकोटबाट ३५ किलोमिटरको यात्रा पछि सिँगटी पुगिन्छ । त्यहाँबाट थप २१ किलोमिटर यात्रा पछि विगु गुम्बा पुगिन्छ ।  

विगु गुम्बालाई निक्कै पुरानो गुम्बा मानिन्छ । तथापि यसको लिखित इतिहास भने विक्रम संवत् १९१५ बाट देखिन्छ । औपचारिक रूपमा भने विक्रम संवत् १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) यो गुम्बा स्थापना गरेको बताइन्छ । गुम्बामा नियमित रूपमा पाठ पूजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरूलाई पढाउने कार्य हुँदै आएको छ । सो गुम्बामा कहिल्यै ननिभ्ने बत्ती नियमित रूपमा बल्दछ ।

बडा दशैँको फूलपातीदेखि एकादशीसम्म गुम्बामा बत्ती बाल्ने परम्परा छ ।  हिन्दु धर्मावलम्बीहरूले दशैँ काटमार गरी बली चढाउने भएकाले उनीहरूको आत्मशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने गरिन्छ । महिला भिच्छु –आनी) लाई मात्र पठन पाठन गरिने भएको कारण पनि यो गुम्बाको विशेष महत्व छ।अहिले पनि गुम्बामा ७० जना भन्दा बढी आनीहरु छन् । गुम्बाको नेतृत्व घेसे श्री साङ्गे लामाले गरिरहेका छन् । 

२०७२ सालको भुकम्पले गुम्बाको पुरानो संरचना ध्यवस्त भयो । त्यस पुरातत्व विभाग, विभिन्न संघसंस्था एवं स्थानीयको जनसहभागीतामा गुम्बाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । गुम्वा व्यवस्थापनको मुख्य भुमिका घेसे श्री लोप्साङ ग्याल्छेनले निभाएका छन् ।२५ सय २५ मिटरको उचाइमा भएपनि गुम्बा दक्षिणी फर्किएको कारण धेरै चिसो छैन । अन्य भुभागभन्दा गुम्बा भएको क्षेत्र न्यायाने भएको नेपाल शेर्पा संघ वाग्मती प्रदेश सचिव दावासङ्बु शेर्पा बताउन्छन्। 

स्थानीय पासाङ शेर्पाका अनुसार गुम्बामा दर्शन र भ्रमणको लागि आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । गुम्बामा दर्शन र भ्रमणको लागि आउनेको लागि खान र बस्नको लागि गुम्बाले नै राम्रो गेष्टहाउस व्यवस्था गरेको छ । गुम्बासँगै आसपासका गन्तव्य ठिन्साङ लेक, देउढुंगा, कालिञ्चोक, सातसय पल्टन, थोपो डाँडापनि त्यतिकै रामाइला छन् । सो गुम्बासँगै चिलंखा तेन्छ्युप मण्डप गुम्बा पनि सो क्षत्र भ्रमणको लागि जानेका लागि आकर्षक गन्तव्य बनेको छ । ती क्षेत्रको थप प्रचार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने पासाङकाे भनाइ छ ।
 

Logo