ताप्लेजुङ समाजको आयोजनामा वृहत पदयात्रा कार्यक्रम सम्पन्न (फोटोफिचर)

ताप्लेजुङ समाजको आयोजनामा वृहत पदयात्रा कार्यक्रम सम्पन्न (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं ।

ताप्लेजुङ समाजको आयोजनामा शनिबार ‘वृहत पदयात्रा कार्यक्रम’ सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीको बुढानिलकण्ठदेखि शिवपुरीसम्म १५ किलोमिटरको पदयात्रा सम्पन्न भएको हो ।

ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित आयोजित बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायणडाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो । पदयात्रामा १५ सय बढी पदयात्रीले सहभागी भएका थिए।

पदयात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई र पूर्वमन्त्री गगन थापाले संयुक्तरूपमा गरेका थिए। कार्यक्रम उद्घाटन गदै मन्त्री भट्टराईले ताप्लेजुङबासीको एकता र मानव जीवनका लागि यस्तो किसिमको कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री भट्टराईले अन्य देशका प्रतिनिधि स्वस्थ जीवनशैलीका लागि निरन्तर व्यायाममा निस्कने उदाहरण दिँदै नेपालमा त्यसको अभ्यास नभएकाले अभ्यास गराउन पनि पदयात्रा (हाइकिङ) को आयोजना विशेष रहेको उल्लेख गरे।

यस्तै नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले स्वस्थ रहन पदयात्रा विशेष रहने बताए । आफू पनि समय–समयमा पदयात्राका लागि निस्कने गरेको अनुभव उनले सुनाए ।

पदयात्रा कार्यक्रम ताप्लेजुङबाट काठमाडौं बसोबास गर्दै आएका नयाँ पुस्तामा ग्रामीण परिवेशको झल्को दिनका साथै ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रको परिचयात्मक फोटो प्रदर्शनीसहित सम्पन्न गरिएको हो।

पदयात्रा कार्यक्रममा सहभागीहरू मध्ये तीनजना पुरुष तथा तीनजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साथै, पदयात्रामा सहभागी तीनजना प्रकृतिप्रेमी बालबालिकालाई पुरस्कृत गरिएको थियो।

बढ्दो शहरीकरण र आलश्य जीवनशैलीबीच स्वःस्फूर्त शारीरिक कसरतको बानी बसाल्न पदयात्राले सहयोगी भूमिका खेल्ने कार्यक्रम संयोजक रमेश बरालले बताए ।

Logo