पर्यटकका लागि मुन्धुम ट्रेल सुरु भएकाे छ – उत्तमकुमार बस्नेत

पर्यटकका लागि मुन्धुम ट्रेल सुरु भएकाे छ – उत्तमकुमार बस्नेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल सरकारले गएको जनवरी १ देखि नेपाल भ्रमण वर्ष २०२० अभियान सुुरु गरेको छ । सबै प्रदेश र स्थानीय तहहरूले यस अभियानमा साथ र सहयोग गरिरहेका छन् । प्रत्येक प्रदेशले आ–आफ्नै कार्यक्रम पनि सार्वजनिक गरिरहेका छन् । यसै सन्दर्भमा हामीले प्रदेश नं. १ मा त्यहाँको सरकारले पर्यटक लक्षित कार्यक्रम के के गरिरहेको छ भनेर सोलुखुम्बु जिल्लाका प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतसँग कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका उप-सम्पादक विवस कुलुङले बस्नेतसँग गरिएको कुराकानी आजको ५ प्रश्नमा ।

प्रश्न १.
प्रदेश नं. १ मा पर्यटन प्रवर्धनका लागि के के योजना छन् ?

पर्यटनहरुलाई आउँदा जाँदा चाहिने आवश्यक पूर्वाधारहरूको निर्माणका लागि प्रदेश सरकारले स्थानीय तहहरूलाई सहयोग गरिरहेको छ । साथै नयाँ पर्यटकीय गन्तव्यहरू खोजी गर्ने र तिनीहरूको प्रचार–प्रसारमा ध्यान दिने गरि हामीले कार्यक्रमहरू संचालन गरिरहेका छौं । हिजो जस्तो अवस्था अहिले छैन । पहिलेको भन्दा त्यहाँ धेरै परिवर्तनहरु भएका छन् । अधिकांश स्थानीय तहमा सडकहरू पुगेका छन् । जसले गर्दा हामीले पर्यटन लक्षित कार्यक्रम संचालन गर्न सहज भएको छ ।

प्रश्न २.
नेपाल भ्रमण वर्ष त एकवर्षको अभियान हो । सधैं आउने पर्यटकहरुका लागि दीर्घकालिन योजना केही छ कि एक वर्षको लागि मात्र पर्यटन प्याकेजका कार्यक्रम ल्याइएको हो ?

हामीले दीर्घकालिन कार्यक्रमहरू पनि संचालन गरिरहेका छौं । जस्तै मुन्धुम ट्रेल भनेर भोजपुरको साल्पा पोखरीदेखि सोलुखुम्बुको मिरापिक जाने पर्यटनमार्ग सुरु भएको छ । यस्तै सोलुखुम्बुका अग्ला हिमालहरू, अरुण भ्याली र सगरमाथाबीचको लालीगुराँस फुल्ने भूभागले पनि पर्यटकहरू आकर्षित गर्छ । यी हाम्रा दीर्घकालिन कार्यक्रमभित्र पर्दछन् । सुरु गरिएका पर्यटन कार्यक्रमहरूलाई हामी निरन्तरता दिंदै जानेछौं ।

प्रश्न ३
प्रदेश नं. १ मा त धेरै वटा जिल्ला छन् । ती सबैमा नयाँ नयाँ कार्यक्रम छन् कि प्रदेशले तोकिएका केहि जिल्लामा मात्र पर्यटन लक्षित कार्यक्रम चलाइएको हो ?

सबै जिल्लाका फरक फरक विशेषता छन् । सबैमा केही न केही नयाँ कुराहरू भएकाले त्यहाँको पर्यटन गतिविधिका कामका लागि सम्बन्धित जिल्ला र स्थानीय तहहरूलाई नै जिम्मा दिइएको छ । प्रदेशले त ती कार्यक्रमहरूलाई सर्पोट गर्ने मात्रै हो नि । सबैका इच्छा र रुचि फरक फरक हुन्छन् । सबै किसिमका पर्यटकीय आर्कषणका वस्तु भएकाले प्रदेश नं. १ मा विविधता छ । सबै जिल्लामा पर्यटन लक्षित कार्यक्रम चलाइएको छ ।

प्रश्न ४
तपाईंले भन्नु भए जस्तै भएका पर्यटनका विविधताहरुको प्रचार प्रसारका काम चाहिं के के हुदै छ ?

हामीले विभिन्न संचार माध्ययमहरूको प्रयोग गर्दै यहाँको प्रचार प्रसार गरिरहेका छौं । त्यति मात्र नभएर भर्खरै मात्र पर्यटनमन्त्री अष्ट्रेलिया पुगेर आउनु भएको छ । त्यहाँ पनि उहाँले यहाँ लगायत देशकै प्रचार प्रसारमा सहयोग पुर्याउनु भएको छ । यस्तै हाम्रो प्रदेशबाट विदेश जानु भएका सबैलाई हामीले आफ्नो ठाउँको प्रचारका लागि जहाँ पुगे पनि सकारात्मक पहल गर्न अनुरोध गरेका छौं । स्वदेशमै पनि रोजगारी र अन्य शिलशिलामा विभिन्न जिल्ला पुगेकाहरुले आआफ्नो ठाउँको प्रचार गरिरहनु भएको छ । यसले पनि प्रदेश नं. १ को पर्यटन प्रवर्धनमा टेवा पुगिरहेको छ ।

प्रश्न ५
प्रदेश नं. १ मा यस वर्ष कति प्रतिशत पर्यटक भित्र्याउने लक्ष्य छ ?

यति प्रतिशत नै भन्नु भन्दा पनि हरेक वर्ष यहाँ पर्यटक संख्या बढिरहेको छ । भ्रमण वर्ष अवधिमा प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर  त्योभन्दा बढी नै पर्यटक भित्र्याउने हाम्रो प्रयास हो ।

Logo