सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

केन्द्रबिन्दु
0
Shares

सिन्धुली ।

विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई पररास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ ।

नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेकाले उक्त स्थल विश्वकै लागि कौतुहलताको विषय बन्न सक्छ । यसले आन्तरिक मात्र नभई अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले पनि यो स्थललाई अन्तरराष्ट्रियकरण गर्न लागिएको हो । गढीको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण प्रवद्र्धन गरी अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार लागिपरेको छ ।

सोही अनुरुप सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त शालिकको अनावरण गरे । वि.सं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा बनाइएको यो शालिक विश्वभरका नागरिकका लागि अनुपम उदाहरण बन्नेछ । नेपाल राष्ट्रको एकीकरण गर्ने मात्र नभई विश्वलाई नै युद्धको सफल सन्देश दिने सिन्धुलीगढीको यही महत्व र गरिमालाई पर्यटनका माध्यमबाट विश्वस्तरमा उजागर गर्दै यो ऐतिहासिक सम्पदाको पुनःनिर्माण गरी प्रचारप्रसारमा जुटेको छ, कमलामाई नगरपालिका । गढीको विकासका लागि सङ्घीय सरकारले पनि विशेष महत्व दिएको छ । कमलामाई नगरपालिकाले पृथ्वीनारायणको शालिक निर्माणसँगै गढीस्थलमा सङ्ग्रहालय, पार्क आदि निर्माणको काम गरिरहेको छ ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउन त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपरेको बताए । गढीलाई विश्वसामु चिनाउने चुनावी घोषणा प्रतिबद्धता अनुरुप निर्माण कार्य जारी रहेको यो स्थललाई विश्वकै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना सुनाए । वि.सं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करिव दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो ।

पर्यटनमन्त्री भट्टराईले सिन्धुलीगढीको ऐतिहासिकतालाई जीवन्त राख्न र यसलाई नेपालको मात्र नभई विश्वकै नागरिकका लागि अवलोकन भ्रमण गर्ने पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकार लागिपर्ने बताए । उनले सिन्धुलीगढीलाई विश्वका इतिहास अध्ययन र अनुसन्धानको गन्तव्यका रुपमा समेत बहुआयामिक महत्वको उजागर गरिने उल्लेख गरे । सिन्धुली दरबार, किल्ला, गढी पुनःनिर्माण गरी समाधिस्थलमा पार्क निर्माण गरी युद्ध सङ्ग्रहालयको विकास गर्ने योजना नगरपालिकाले अघि सारेको छ । पर्यटनमन्त्री भट्टराईले सिन्धुलीगढीमा समाधि पार्क, युद्ध सङ्ग्रहालय जस्ता पूर्वाधार निर्माणपछि विशेषगरी बेलायती नागरिकका लागि यो स्थल आकर्षक गन्तव्य बन्ने बताए ।

“सुगौली सन्धिपछि कसैसँग हाम्रो युद्ध भएको छैन, आज एकदमै मित्रतापूर्ण सम्बन्ध छ, त्यसकारण हिजो युद्धका बेला ब्रिटिस सेनाले समाधि लिएको ठाउँमा नगरपालिकाले समाधि पार्क बनाउँदैछ, यो दुई देशबीचको मित्रताको प्रतिक हुनेछ, धेरैभन्दा धेरै बेलायती नागरिक आउनेछन् र कस्तो ठाउँमा पुर्खाले लडेछन् भनेर जानकारी लिनेछन् यसले हजारौं देश तथा विदेशका पर्यटकलाई आकर्षण गर्नेछ”, उनले भने ।

पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भू–भागमा फैलिएको ब्रिटिस साम्राज्यलाई रोक्न पृथ्वीनारायणको अगुवाइमा एकीकरण अभियान नचलेको भए आज नेपाल भन्ने अवस्था नरहने थियो भन्दै पर्यटनमन्त्री भट्टराईले नेपाली माटो जोगाउन र विश्वको मानचित्रमा नेपालको पहिचानलाई स्थापित गराउन पृथ्वीनारायणको महत्वपूर्ण योगदान रहेको बताए । उनले भने, “पृथ्वीनारायण कुशल युद्ध सेनापति मात्र नभई कुशल रणनीतिकार पनि हुनुहुन्थ्यो, कुन ठाउँमा कसरी युद्ध लड्ने र कहाँकहाँ सम्झौता गर्ने प्रत्येक चरणमा उहाँले आफ्नो कला कौशलता प्रदर्शन गर्नुभयो । साथै उहाँ नेपाल एकीकरणको अभियानप्रति निष्ठावान् हुनुहुन्थ्यो ।”

पर्यटनमन्त्री भट्टराईले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र एकता दिवसका सन्दर्भमा त्यो अठोटतालाई अझ गम्भीर दायित्व बोध गराएको तथा राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने जिम्मेवारी बढेको उल्लेख गरे । पर्यटनमन्त्री भट्टराईले राजधानी काठमाडौँ नजिकको ऐतिहासिक सिन्धुलीगढीलाई पर्यटन प्रवद्र्धनका निम्ति पदमार्ग निर्माण प्राकृतिक र सांस्कृतिक गतिवधिको प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयले सक्दो सहयोग गर्ने वचन दिए ।
रासस

Logo