सुदूरपश्चिम प्रदेश : भ्रमण वर्षलाई सफल तुल्याउन आह्वान

सुदूरपश्चिम प्रदेश : भ्रमण वर्षलाई सफल तुल्याउन आह्वान


कैलाली ।

‘‘भ्रमण वर्ष २०२० हाम्रो मूल नारा, राष्ट्र विकास सबको विकास, जुटौँ हामी सारा ।” सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन उक्त नारा तय गरेको छ । सो नारासहित प्रदेशका मुख्य सडक, सीमा नाका र चोकमा ट्राफिक प्रहरीले पर्यटन मैत्री गतिविधि शुरु गर्न लागेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

“पर्यटनमैत्री गतिविधि गर्ने योजना शुरु गरिसकेका छौँ, श्रेष्ठले भने, “हाम्रा यी नाराले चेतना अभिवृद्धि भई भ्रमण वर्षलाई सफल बनाउन टेवा पुग्नेछ ।” कार्यालयले पर्यटकलाई आमन्त्रण गर्न अर्को नारा पनि प्रस्तुत गरेको छ । ‘‘भ्रमण वर्ष २०२० मा रमाउन सम्पूर्ण पर्यटकहरुमा हाम्रो निमन्त्रणा, सबैको यात्रा सुरक्षित होस्, यही छ सुदूरपश्चिम ट्राफिक प्रहरीको शुभ कामना ।”

सुरक्षित यात्रासहित भ्रमण वर्षलाई सफल बनाउन कार्यालयले प्रस्तुत नारा पनि सार्वजनिक गरेको छ । ‘‘भ्रमण वर्ष २०२० सफलताको सबैमा कामना, सुरक्षित जीवन सुरक्षित यात्रा, यही छ सुदूरपश्चिम ट्राफिक प्रहरीको शुभकामना ।” ‘ट्राफिक नियमको पालना गरौँ, नगरौँ दुर्घटनाको सामना, भ्रमण वर्ष २०२० सफल पारौँ, यही छ सुदूरपश्चिम ट्राफिक प्रहरीको शुभकामना ।”

पर्यटनमैत्री गतिविधि गर्ने प्रयास स्वरुप सीमा नाकाबाट भित्रिने पर्यटकको विवरण सङ्कलन गर्ने योजना पनि बनाइएको छ । यस्तै नेपाल प्रवेश गर्ने गाडीका चालकसहितका पर्यटकलाई ट्राफिक नियमबारेको सचेतना दिई स्वागतसहित भित्र्याउने योजना रहेको श्रेष्ठले जानकारी दिए ।

सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीका चालकहरुले सडक इजाजत लिनका लागि झण्झट व्यहोर्नु परेको परिप्रेक्षमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमा नाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था पनि गर्न लागिएको छ ।

रासस

Logo