प्रदेश नं १ : नेपाल भ्रमण वर्षको तयारी पूरा–मन्त्री कुसियत

प्रदेश नं १ : नेपाल भ्रमण वर्षको तयारी पूरा–मन्त्री कुसियत

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं १ सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई भव्यरूपमा मनाउन सबै तयारी भइसकेको जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन पुस १६ गते स्थानीय शहीद रङ्गशालामा भव्य समारोहकाबीच हुने शुभारम्भ कार्यमा प्रदेश सरकारले आफ्ना सबै तयारी गरिसकेको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

समारोहलाई भव्यता प्रदान गर्न हेलिकप्टरबाट पुष्प अर्पण, ड्रोनबाट नेपालको झण्डा फहराउने र १० औँ हजारको सङ्ख्यामा मानिस भेला गरी कार्यक्रम चलाउने, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटको मार्च पास गराउनुका साथै विभिन्न जातजातिको संस्कृति झल्किने झाँकी प्रदर्शन पनि गरिने मन्त्री कुसियतले जानकारी दिए ।

उनले एक वर्षमा यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यमा सबैले साथ र सहयोग गर्नुपर्ने आह्वान गर्दै पर्यटनको विकास गरेर नेपालको अर्थतन्त्रलाई बलियो बनाउने कुरामा जोड दिए । मन्त्री कुसियतले आर्थिक मेरुदण्डको रूपमा रहेको पर्यटकको आवागमनबाट देशको चिनारी र संस्कृति पनि विश्वमा फैलिने धारणा राखे ।

उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीवकुमार राईले सरकारले छनोट गरेका १०० गन्तव्यमध्ये १६ वटा यसै प्रदेशमा रहेकाले प्रदेश सरकारले त्यस क्षेत्रको पूर्वाधार निर्माण गर्न रु एक अर्ब ५१ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

Logo