पोखरामा राष्ट्रिय पर्यटक पथप्रदर्शन तालीम शुरु

पोखरामा राष्ट्रिय पर्यटक पथप्रदर्शन तालीम शुरु

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सोमबारदेखि राष्ट्रिय पर्यटक गाइड तालीम शुरु भएको छ ।

पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट (नाथुम) सँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं सहयोगमा तालीम सञ्चालन गरिएको हो ।

कूल तीन सय घण्टा सञ्चालन हुने तालीममा २५ सहभागी रहने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले बताए । पोखरामा पहिलो पटक यस किसिमको तालीम गर्न लागिएको जानकारी दिँदै उनले तालीम प्राप्त व्यक्तिका माध्यमबाट पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यावसायिक दक्षतायुक्त जनशक्ति भएमा पर्यटन क्षेत्रको विकास सम्भव हुने बताउँदै तालीमका उपलब्धिलाई व्यवहारमा लागू गर्नसक्ने गरी क्षमता अभिवृद्धि गर्न तालीमका सहभागीलाई आग्रह गरे ।

नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सहसंयोजक अग्नि कँडेलले भ्रमण वर्ष नजिकिँदै गर्दा गरिएको तालीम फलदायी बन्ने विश्वास व्यक्त गरे । पर्यटन विज्ञ वासु त्रिपाठीले पोखरामा यस किसिमको तालीम सञ्चालन हुनु यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण भएको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले गण्डकी प्रदेशका प्रकृति, संस्कृति र साहसिक पर्यटक विशिष्टता भएको उल्लेख गरे । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पर्यटकीय रुपमा पोखराको कथा जसरी सुनाउनुपर्ने हो त्यो हुन नसकेको बताए ।

कार्यक्रममा नाथुमका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल, नाट्टा गण्डकी प्रदेशका महासचिव हरिराम अधिकारी, तालीम संयोजक कूलचन्द्र शर्मा, पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीलगायतले तालीमबाट अधिकतम उपलब्धि हासिल गर्न सहभागीलाई आग्रह गरे ।

Logo