सगरमाथा चढ्ने तयारीमा सागर

सगरमाथा चढ्ने तयारीमा सागर

केन्द्रबिन्दु
364
Shares

काठमाडौं । फरक क्षमताका सागर सुनार(विश्वकर्मा) सगरमाथा चढ्ने तयारीमा लागेका छन्। ३ फुट ७ ईञ्च मात्र उचाई रहेका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेका हुन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अबको केही हप्तामा आफू सगरमाथा आरोहणको लागि आधार शिविरतर्फ जान लागेको बताए। सगरमाथाको आरोहण गर्नु अघि उनले लोबुछे पिकको आरोहण गर्ने छन्।

उनले सगरमाथा आरोहण कम्पनी बुकिङ् ओन प्रालिबाट गर्न लागेका हुन्। सागर तयारी स्वरुप अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन्।

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको सागर बताउँछन्। ‘हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिलाई समाजले हेने दृष्टिकोण नराम्रो छ। उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहान्छु। अबको केही हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,’ सागर बताउँछन्।

दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गर्नु उनको भनाइ छ। अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियानसमेत चलाइरहेका छन्।

‘हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ। हेलाँ गर्छ। हेप्छ। म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,’ सागर भन्छन्,‘हामी किन थिचिने? किन मिचिने? म जस्ता अरु फरक क्षमता भएका लागि मनोबल पनि बढोस्। हामी पनि के कम छौँ र?’

सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन्।

को हुन् सागर ?
सागरको जन्म कास्कीको मादी गाउँपालिका-१ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो।

बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्ममात्र अध्ययन गर्न सके। सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए। त्यसपछि उनी सुन पसलमा काम गर्न थाले। बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु पर्यो।

टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले। अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ।

Logo