एसियाकै ठूलो ढुङ्गा नेपालमा ! (भिडियाेसहित)

एसियाकै ठूलो ढुङ्गा नेपालमा ! (भिडियाेसहित)


पर्वत।

पर्वतको महाशिलामा रहेको एसियाकै ठूलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ ।

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ । विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन । पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ ।

मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरु भने खासै पुगेको पाईंदैन । तर अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ । यस्तै महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणका लागि ८२ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । यसबाहेक पानी धारा निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजना अनुरुप १ सय ८ धारा निर्माण सम्पन्न भइसकेका छन् ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नका लागि गाउँपालिकाले काम गरिरहेको छ । गाउँपालिकाले १ सय ८ फिट भगवान शिवको मूर्ति निर्माणको काम अगाडि बढाउने योजना समेत गाउँपालिकाको छ ।

दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रमा गर्नका लागि शिशाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ ।

Logo