नेपाल भित्रियो लुभ होटल्सको लक्जरी ब्राण्ड, सौराहामा पाँचतारे रिसोर्ट रोयल टुलिप तयार

नेपाल भित्रियो लुभ होटल्सको लक्जरी ब्राण्ड, सौराहामा पाँचतारे रिसोर्ट रोयल टुलिप तयार

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । चितवनको सौराहामा पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप सञ्चालनमा ल्याउने तयारी भएको छ । सञ्चालक रामेश्वर शाहका अनुसार यो रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

नेपालमा भित्रिएको लुभ होटल्सको सबैभन्दा उच्चस्तरी लक्जरी ब्राण्ड रहेको यो ३ बिघा क्षेत्रफलमा निर्माण भएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिक रहेको होटलको लागत १ अर्ब ५० करोड पुगेको छ ।

रिसोर्टमा ६५ वटा लक्जरी कोठा र चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम रहेका छन् । सो रिसोर्टमा २१ वटा भवन संरचना निर्माण भएको छ। तीमध्ये १४ वटा भवन एक तल्लाका, दुई तल्लाको चारवटा र तीनवटा भवन तीन तल्लाको रहेको सञ्चालक शाहले बताए ।

प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेष्टुरेन्टबाट अगाडिको जंगल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, पाँच सय क्षमताको बैंक्यूट हल, चारवटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ ।

रोयल टुलिप ब्राण्डमा नै सञ्चालन हुने होटलको व्यवस्थापन युरोपको लुभ होटल्स समूहले गर्दै छ । लुभ होटल्स युरोपको दोस्रो ठूलो र विश्व बजारमा ११ वटा ब्राण्डमा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको छ ।

रोयल टुलिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एण्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताएका छन् ।

सञ्चालक शाहका अनुसार रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ । जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना हुने उनले बताए ।

सन् २०२० को जनवरीमा स्थापित केटीएम हस्पिटालिटी प्रालिद्वारा निर्माण भएको केटिएम ग्रुपको पहिलो रिसोर्टमा ३ वटा वाटर भिल्ला, चार तलामाथि १ वटा मचान भिल्ला, हेलिप्याड, ग्रिलबार, चिल्ड्रेन पार्क रहेको छ। रिसोर्टभित्र १ फन्को लगाउँदा १ किलोमिटरको ट्रेल हुन्छ । अहिले स्पोर्टस बारको निर्माणको तयारी समेत भइरहेको जनाएको छ।

Logo