आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

केन्द्रबिन्दु
6
Shares

गण्डकी । पोखरा महानगपालिका–१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्न थालिएको हो ।

उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।

महाप्रभुधाम संरक्षण समितिका संरक्षक स्वामी दिनदयालजी महाराजका अनुसार एक सय वर्षभन्दा अघि यहाँ स्वर्गद्वारीबाट हंश महाराजका चेला कपिलदेव महाराजले एक महिनासम्म ठूलो महायज्ञ लगाउनुभएको थियो । उक्त अवसरमा यहाँ अखण्ड हवनसँगै गौदानलगायत विभिन्न किसिमका अनुष्ठानहरू एक साथ गरिएको इतिहास रहेको उनले जानकारी दिए।

“यहाँ महायज्ञ गरी सिद्धी प्राप्त गरेको स्थान भएकाले यस क्षेत्रको विशिष्ट महत्व छ”, स्वामी दिनदयालजीले भने, “यो ठूलो धार्मिक महत्त्वको तीर्थस्थल हो । महाप्रभुधामसँगै यहाँ नजिकै रहेको मणिद्विपले पनि विशिष्ट धार्मिक महत्त्व बोकेको छ ।” पाल्पाका तत्कालीन राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विपको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा पहल थालिएको उनले जानकारी दिए।

“यहाँका धार्मिक महत्त्वका सम्बन्धमा विभिन्न किंवदन्ती पनि छन् । एक किंवदन्ती अनुसार यहाँ नजिकै रतन पाण्डे मन्दिर र महाप्रभुधामको बीच भागमा प्राचीन कालमा एउटा पोखरी थियो । धार्मिक महत्वको उक्त पोखरीमा रुखका पात खस्नासाथ चराले टिपेर लैजान्थ्ये । यस्ता विभिन्न किसिमका किंवदन्तीले पनि यहाँको ऐतिहासिक महत्त्वलाई झल्काउने बुढापाकाहरू बताउँछन्”, स्वामी दिनदयालजीले भने।

करिब एक सय वर्षअघि महाप्रभुहरूले महायज्ञ सञ्चालन गर्दा निर्माण गरिएको हवन कुण्डले पनि यहाँको ऐतिहासिकतालाई थप प्रष्ट पार्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले उल्लेख गर्नुभयो । समितिले यहाँको ऐतिहासिकता एवम् धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उनले बताए ।

उक्त समयको ऐतिहासिकताको जीवन्त साक्षी हवन कुण्डसहित धार्मिक महत्त्वका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डेथानको संरक्षणसँगै प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा ििसमति अघि बढेको उनको भनाइ छ ।

पोखराको महेन्द्रपुलबाट आधा घण्टाभित्रै सवारीसाधनबाट पुग्न सकिने महाप्रभुधामसहित यहाँका विभिन्न स्थानहरूबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, दक्षिणतर्फ पोखराको मनमोहक दृश्य एकसाथ अवलोकन गर्न सकिने समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालले जानकारी दिए। धार्मिक पर्यटनका दृष्टिले आर्बा सम्भावना बोकेको क्षेत्र भएकाले यस ठाउँको प्रवद्र्धन अपरिहार्य रहेको उनको भनाइ छ ।

महाप्रभुधामसँगै यहाँ रहेका मणिद्विप, रतन पाण्डेको मन्दिरलगायत स्थानलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेतर्फ आँफूहरू लागिरहेको समितिका सचिव भोजराज बरालले बताए ।

महाप्रभुधाम नजिकै रहेको रतन पाण्डे मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थानका रूपमा चिनिएको उक्त मन्दिर संरक्षण समितिका अध्यक्ष घनश्याम बरालले उल्लेख गरे। यसको थप प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

उनका अनुसार रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा यहाँका स्थानीयले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । रतन पाण्डेको पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्रचलन प्राचीन समयदेखि रहिआएको उहाँले जानकारी दिए।

“रतन पाण्डेलाई वायुका राजाका रूपमा लिने गरिएको छ”, अध्यक्ष बरालले भने, “यहाँ अत्यन्त निष्ठापूर्वका पूजाआजासँगै तयार गरिएको प्रसाद मन्दिर परिसरमा बसेर धारण गर्नुपर्ने, घरमा लैजान नहुनेलगायत विधि र प्रक्रिया रहेकाले यसको विशेष महत्व छ ।”

पछिल्ला समयमा महाप्रभुधाम र मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन रहेको समाजसेवी शिरोमणि बरालले जानकारी दिए । उनका अनुसार आर्बामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो ।

स्थानीयका अनुसार शक्तिशाली शक्तिपीठका रूपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका थिए । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका स्थानीय बताउँछन् । नागको दोषका कारण स्वास्थ्य, लगानीलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने जनविश्वास रहिआएको रतन पाण्डे मन्दिर संरक्षण समितिका अध्यक्ष बरालले जानकारी दिए।

प्राचीनकालदेखि सन्यासी बस्दै आएको यहाँको खरले छाएको मन्दिर विसं २०६२ मा पुनःनिर्माण गरिएको थियो । विसं २०६३ मा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो ।

प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयको अनुभव छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गरेका थिए ।

करिब १५ वर्षअघि भारतको हरिद्वारबाट आउनुुभएका १००८ महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ महामण्डलेश्वर सुतिक्षण मुनीजी महाराज, सन्त दिनदयालजी महाराजको उपस्थितिमा महाप्रभुधाममा शतबीज छर्न सुरु गरेसँगै यो स्थल धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण बनेको महाप्रभधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका पूर्वअध्यक्ष धर्मराज बरालले जानकारी दिए ।

महाप्रभुधामसहित मणिद्विप, रतन पाण्डेलगायत धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सन्दर्भमा सरोकार भएका निकायसँगको समन्वयमा आँफूहरू लागिरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताए । महाप्रभुधाम क्षेत्रको विकासका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउँदै उहाँले यहाँका पूर्वाधार विकासका लागि करिब रु १२ करोड खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।

Skip This
Skip This
Logo