पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’

केन्द्रबिन्दु
18
Shares

झापा। ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित साइकलमार्फत झापा जिल्ला घुम्ने कार्यक्रम आयोजना गरिने भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहर पर्यटनको अवधारणा अघि बढाउने र स्वस्थ तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको साइक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिएका छन् ।

क्लबद्वारा आयोजित ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धक पर्यटन कार्यालय काँकरभिट्टा रहेको छ ।

पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमअन्तर्गत जिल्लाका १२ पालिकाको साइकल यात्रा गरिनेछ । पहिलो दिन ६० किलोमिटर यात्रा तय गरिएको छ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर, हल्दीबारी र विर्तामोड क्षेत्रमा साइकल यात्रा गरिनेछ ।

यात्रा पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु भई बाहुनडाँगी–४९, धारा–मदन भण्डारी राजमार्ग, बर्ने चिया बगान, अर्जुनधारा जलेश्वरधाम, अर्जुनधारास्थित सामुदायिक वन, जामुनखाडी सिमसार हुँदै दोमुखामा पुगेर पहिलो दिनको यात्रा टुङ्गिनेछ ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा तय गरिएको छ । दोमुखाबाट सुरु हुने यात्रा माइधार, चिल्लागढधाम, शिवगञ्ज बजार, चौरी, हुलाकी मार्ग, झापा बजार, राजगढ, जलथल जङ्गल, बनियानी हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा समापन हुनेछ ।

तेस्रो तथा अन्तिम दिन ५० किलोमिटरको यात्रा बनियानीबाट किच्चकबध, भद्रपुर, हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा पुगेर कार्यक्रम सम्पन्न हुनेछ ।

कार्यक्रममा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक सहभागी हुनेछन् । कुल सहभागीमध्ये कम्तीमा २० प्रतिशत महिला र २० प्रतिशत झापा बाहिरका सहभागी रहने व्यवस्था गरिएको छ ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रमा सहयोग, सीमा क्षेत्र, धार्मिक स्थल, सिमसार र ग्रामीण भू–भागलाई जोड्दै झापालाई साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन कार्यक्रमले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Logo