धार्मिक पर्यटनको नयाँ गन्तव्य : नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको नयाँ गन्तव्य : नवलपुरको दाउन्ने देवी मन्दिर

केन्द्रबिन्दु
12
Shares

त्रिवेणी नवलपुर। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलको रूपमा परिचित हुँदै गएको छ। पूर्व–पश्चिम राजमार्ग नजिकैको दाउन्ने डाँडाको चुचुरोमा रहेको यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दो छ।

समुद्री सतहबाट करिब ३,३०० फिट उचाइमा रहेको मन्दिरमा पुग्न दाउन्ने बजारबाट करिब आधा घण्टा उकालो यात्रा गर्नुपर्छ। यहाँ पूजाआराधना गर्दा मनोकामना पूरा हुने विश्वासका कारण देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। भारतीय सीमा नजिक पर्ने भएकाले भारतबाट पनि दर्शनार्थी आउने गर्छन्।

स्थानीय जनश्रुतिअनुसार, पाल्पाका राजा मणिमुकुन्द सेनको समयदेखि यस क्षेत्रको धार्मिक महत्व रहँदै आएको छ। यस कारण मन्दिरलाई ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

विशेष गरी बडादसैँ, चैतेदसैँ, श्रीपञ्चमी जस्ता पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। दाउन्ने देवी मन्दिरलाई शक्तिपीठको रूपमा पूजा गर्ने चलन छ। विवाह, व्रतबन्ध लगायतका अवसरमा पनि यहाँ स्थानीय र बाह्य भक्तजन आउने गरेका छन्।

यस क्षेत्रमा लक्ष्मीनारायण मन्दिर, शिवालय, गायत्री मन्दिर, गुम्बा लगायत अन्य धार्मिक स्थल पनि अवस्थित छन्। दाउन्ने देवी मन्दिर व्यवस्थापन समितिले गौशालासमेत सञ्चालन गर्दै आएको छ। सार्वजनिक बिदाका दिनमा यहाँ भक्तजनको घुइँचो बढी हुने गरेको अध्यक्ष हरिहर सुवेदीले बताए।

प्राकृतिक रूपमा सुन्दर स्थल भएकाले धार्मिक यात्रा र घुमफिर दुवैका लागि मानिसहरू यहाँ आउने गर्छन्। गण्डकी प्रदेश सरकारले दाउन्ने देवी मन्दिरलाई प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेको छ।

मन्दिरमा भक्तजनको भेटीबाट पुजारी व्यवस्थापन, कर्मचारी व्यवस्थापन र गौशाला सञ्चालन गरिन्छ। अध्यक्ष सुवेदीले भने, “राज्यले यस्ता धार्मिक सम्पदामा संरक्षण र सहयोग गर्नु आवश्यक छ।”

हालै मन्दिर व्यवस्थापन समितिले अशक्त र ज्येष्ठ नागरिकको लागि नयाँ मार्ग निर्माण गरेको छ। यातायातका साधन मन्दिरसम्म पुग्ने लक्ष्य राखिएको भए पनि गिट्टी हालेर स्तरोन्नति गर्न अझ सहयोग आवश्यक छ।

धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण दाउन्ने देवी मन्दिर अहिले नवलपुरको धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्ने क्रममा छ। अध्यक्ष सुवेदीले सबै पक्षले यसको संरक्षण र विकासमा सक्रिय पहल गर्नुपर्ने बताए।

Logo